ब्युटी न्युज नेपाल
काठमाडौँ, १० कात्तिक
कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’ले दाजुभाइबीचको आत्मीयता, विश्वास र एकताको भाव समेटिएको गीत सार्वजनिक गरेको छ। निर्माण टिमले सोमबार ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ बोलको गीत सार्वजनिक गर्दै चलचित्रको कथावस्तुसँग जोडिएको भावनात्मक पक्षलाई दर्शकमाझ प्रस्तुत गरेको हो।
सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा डा. कृष्णहरि बरालको शब्द छ। गीतले दाजुभाइबीचको सम्बन्ध र आपसी एकताको महत्त्वलाई उजागर गरेको छ। गीतको दृश्यमा स्वर्गलोकमा रहेका युधिष्ठिर आफ्ना भाइहरू समस्यामा परेको थाहा पाएपछि उनीहरूलाई खोज्दै धर्तीमा आएको प्रसंग प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला देखिएका छन्। भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् भने श्याम तामाङले छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। गीतको अन्त्यतिर द्रौपदीको भूमिकामा इभा गिरीलाई देख्न सकिन्छ।
वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको ‘पाँच पाण्डव’लाई काली रानी फिल्मस्को ब्यानरमा तयार पारिएको हो। चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला पाँच पाण्डवका रूपमा प्रस्तुत भएका छन्। त्यस्तै, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेशजंग खत्रीलगायत कलाकारको पनि अभिनय छ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन्। यसअघि ‘लाज शरणम्’ निर्माण गरेका श्रेष्ठले यस चलचित्रमार्फत फरक कथावस्तु दर्शकमाझ ल्याउन लागेका हुन्।
लेखक सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्न खोजिएको लेखक पौडेलले बताएका छन्।
चलचित्रमा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ। गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्। अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको ध्वनि डिजाइन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत र पुकार धिमालको भिएफएक्स रहेको चलचित्रमा रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा छन्।
निर्देशक निरौलाका अनुसार चलचित्रलाई डल्बी एटमस प्रविधिको ध्वनि प्रणालीमा दर्शकमाझ प्रस्तुत गरिनेछ। तिहारको अवसर पारेर कात्तिक २० गते प्रदर्शनमा आउने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। चलचित्रलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी वितरण गर्नेछन्।









