१३ गतेदेखि काठमाडौँ फिल्म फेस्टिभल, शबाना आजमीदेखि मार्को मुलरसम्म सहभागी हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० कात्तिक

काठमाडौँको मौलिक संस्कृति, सम्पदा र नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘काठमाडौँ फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरू सहभागी हुने भएका छन्। काठमाडौँ महानगरपालिकाको आयोजनामा आगामी कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा चीन, जापान, भारतलगायत विभिन्न देशका चलचित्रकर्मी तथा विज्ञहरूको सहभागिता रहनेछ।

महोत्सवमा भारतीय अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमी तथा फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलर, जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा सहभागी हुनेछन्। उनीहरूले नेपाली चलचित्रकर्मी तथा रचनात्मक उद्योगसँग सम्बन्धित व्यक्तित्वसँग अन्तरसंवाद, प्यानल छलफल र मास्टर क्लासमा सहभागिता जनाउने कार्यक्रम छ।

काठमाडौँको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति, परम्परा तथा मूर्त, अमूर्त र अभिलेख सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवले पुरानो पुस्ताको ज्ञान र अनुभवलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। साथै, काठमाडौँका समुदाय र बस्तीभित्र रहेका तर पर्याप्त रूपमा बाहिर आउन नसकेका कथाहरूलाई चलचित्रमार्फत उजागर गर्ने अपेक्षा गरिएको छ।

महोत्सवअन्तर्गत कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रा तथा उद्घाटन कार्यक्रम हुनेछ। कात्तिक १४ गते पर्यटन बोर्डमा शबाना आजमीले ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवादमा सहभागिता जनाउनेछिन्। सोही दिन दीप्ति डीकुन्हा सिर्जनात्मक सहरको प्रवर्द्धनमा चलचित्र र महोत्सवको भूमिकासम्बन्धी प्यानल छलफलमा सहभागी हुनेछिन्। जापानी निर्देशक नाकामुराले राष्ट्रिय सभागृहमा यामागाता युनेस्को फिल्म सिटीको परिचयात्मक प्रस्तुति दिने कार्यक्रम छ।

कात्तिक १५ गते पर्यटन बोर्डमा प्राध्यापक मार्को मुलरको मास्टर क्लास सञ्चालन हुनेछ। ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका सन्दर्भमा चलचित्र सौन्दर्यशास्त्र’ विषयमा केन्द्रित उक्त कक्षापछि नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्यबारे प्यानल छलफल आयोजना गरिनेछ।

पहिलो पटक आफुहरुले आयोजना गर्न लागेको यो महोत्सवलाई भव्य बनाउनु कुनै कसर नराख्ने काठमाडौँ महानगरपालिकका कार्यकारी प्रमुख सुनिता डंगोलले बताईन् । मोत्सवलाई सफल पार्न सबैसँग अपिल गर्दै उनले तीन दिनको यो महोत्सवमा निशुल्क चलचित्र हेर्न सबैलाई अनुरोध गरेकी छिन् । आज सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै उनले कान्स फिल्म फेस्टिबलमा सहभागिताको अनुभव पनि सुनाईन् ।

पुराना नेपाली चलचित्रदेखि अन्तर्राष्ट्रिय फिल्मसम्म

महोत्सवमा नेपाली चलचित्रको इतिहास संरक्षण गर्ने उद्देश्यले सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘सिन्दुर’, ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिनेछन्। साथै, अन्तर्राष्ट्रिय पानोरामा अन्तर्गत विभिन्न देशका समकालीन, स्वतन्त्र तथा विशिष्ट सांस्कृतिक दृष्टिकोण बोकेका चलचित्र प्रदर्शन हुनेछन्।

प्रदर्शन सूचीमा चिनियाँ चलचित्र ‘डियर यु’, भारतीय चलचित्र ‘बयान’, अस्ट्रेलियन चलचित्र ‘मिस एन प्लेस’, अस्ट्रेलिया–मंगोलियाली चलचित्र ‘स्टेयर्स’, कोरियाली चलचित्र ‘द किङ्स वार्डेन’, सिंगापुर–भारतीय चलचित्र ‘नट अ हिरो’ तथा फ्रान्सिस फोर्ड कोपोलाद्वारा निर्देशित अमेरिकी चलचित्र ‘द गडफादर’ लगायत छन्। समापन अवसरमा नेपाली, अमेरिकी, फ्रान्सेली र अस्ट्रेलियाली सहकार्यमा बनेको ‘प्राइभेट प्रपर्टी’ प्रदर्शन गरिनेछ। यामागाता युनेस्को क्रिएटिभ सिटी अफ फिल्मबाट आएको लघु चलचित्र ‘भ्यू पिपुल, भ्यू सिटिज’ पनि देखाइनेछ।

नयाँ प्रतिभालाई प्रोत्साहन

महोत्सवमा नेपाली नवप्रतिभाका सिर्जनालाई स्थान दिन ‘नेपाल पानोरामा सर्ट्स’ कार्यक्रमसमेत सञ्चालन गरिनेछ। खुला आह्वानबाट प्राप्त ७५ चलचित्रमध्ये १० वटा प्रदर्शनका लागि छनोट भएका छन्। छनोट भएका प्रत्येक चलचित्रलाई महानगरपालिकाले एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गर्नेछ।

यसैगरी, ‘माई कल्चर, माई हेरिटेज’ अर्थात् ‘मेरो संस्कृति, मेरो सम्पदा’ शीर्षकमा आयोजित युवा लक्षित सर्ट भिडियो च्यालेन्जमा प्राप्त ३५ भिडियोमध्ये ११ वटा छनोट भएका छन्। निर्णायक मण्डलबाट पहिलो, दोस्रो र तेस्रो हुने सिर्जनाले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

नेपाल पानोरामा सर्ट्समा सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ लगायतका चलचित्र समावेश छन्।

युवा भिडियो च्यालेन्जमा शैलेश हमालको ‘ह्याप्पिनेस’, धृतिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करन ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्रा : द बिगेस्ट फेस्टिभल अफ काठमाडौँ’, सौगात सापकोटाको ‘झिँगु छेँ (माइ होम)’ र अनुभव श्रेष्ठको ‘द सोल अफ गुठि’ लगायतका भिडियो छनोट भएका छन्।

चलचित्रकर्मीबीच अन्तरक्रियात्मक कार्यक्रम

महोत्सवमा रेड कार्पेट, अवार्ड समारोह, पुराना नेपाली चलचित्रको प्रदर्शन तथा चलचित्रकर्मीबीच अन्तरक्रियात्मक कार्यक्रम पनि हुनेछन्। नेपाली चलचित्र क्षेत्रका अग्रज, युवा तथा बालकलाकारसँगै विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वलाई रेड कार्पेटमा सम्मानपूर्वक सहभागी गराइनेछ।

महोत्सवका सबै चलचित्र प्रदर्शन निःशुल्क हुनेछन्। तर, सिट सुरक्षित गर्न निःशुल्क टिकट लिनुपर्ने व्यवस्था गरिएको छ। डिजिटल टिकटिङका लागि हिमालय पेसँग सहकार्य गरिएको छ।

काठमाडौँलाई युनेस्कोको रचनात्मक सहर सञ्जालमा चलचित्र विधामार्फत थप स्थापित गर्ने, स्थानीय चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने र चलचित्र पर्यटनको विकास गर्ने उद्देश्य महोत्सवले राखेको छ। स्थानीय समुदाय, विद्यार्थी तथा चलचित्र क्षेत्रका पेशाकर्मीलाई सहभागी गराएर चलचित्रलाई शिक्षा, संस्कृति, पर्यटन र रचनात्मक उद्योगको विकाससँग जोड्ने महानगरपालिकाको योजना रहेको छ।