ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ कात्तिक
चलचित्र निर्माता मनिष पण्डित चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई दुई वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयले जनाएको छ। पण्डितले आज सञ्चार मन्त्रालय पुगेर नियुक्तिपत्र बुझेका हुन्। उनलाई आज सूचना तथा सञ्चार मन्त्री बिक्रम तिमिल्सिनाले आज सपथ ग्रहण गराएका छन् ।
चलचित्र निर्माणमा सक्रिय पण्डितले दुईवटा वृत्तचित्र निर्माण गरेपछि ‘जाइरा’ र ‘ग्याङस्टार ब्लुज’ चलचित्रको निर्माण टोलीमा रहेर निर्माताको रुपमा काम गरेका थिए। चलचित्र क्षेत्रसँगै बोर्डको कार्यप्रणालीबारे पनि अनुभव हासिल गरेका पण्डितले यसअघि चलचित्र विकास बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलको कार्यकालमा बक्स अफिस कन्सल्टेन्टका रूपमा काम गरेका थिए।
बोर्ड अध्यक्ष बन्नका लागि पण्डितले यसअघि दुई पटक आवेदन दिएका थिए। तेस्रो प्रयासमा उनी अध्यक्ष बन्न सफल भएका हुन्।









