मिसेस नेपाल वर्ल्ड २०२६ को ट्यालेन्ट शोमा २२ प्रतिस्पर्धीको प्रतिभा प्रदर्शन


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ कात्तिक

आगामी कात्तिक १४ गते आयोजना हुने ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका २२ महिलाले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। रिवन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न ट्यालेन्ट शोमा प्रतियोगीहरूले नृत्य, अभिनय, कविता वाचनलगायतका प्रस्तुतिमार्फत आफूभित्रको सिर्जनात्मक क्षमता उजागर गरेका हुन्।

प्रतियोगिताको यस चरणमा सहभागीहरूले आ–आफ्नो रुचि, सीप र क्षमताअनुसार प्रस्तुति दिएका थिए। विविध विधाका प्रस्तुतिले ट्यालेन्ट शो आकर्षक बनेको आयोजकले जनाएको छ। यसै चरणको मूल्यांकनका आधारमा ‘मिसेस ट्यालेन्ट’ उपाधिका लागि विजेता छनोट गरिनेछ। रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले उक्त उपाधि प्रतियोगिताको अन्तिम स्पर्धाकै दिन घोषणा गरिने जानकारी दिएका छन्।

ट्यालेन्ट शोमा संगीतकार राजु सिंह, नृत्य निर्देशक जोगेन्द्र केसी, अभिनेता तथा मोडल यसराज गराच र शिक्षाविद् ज्ञानेन्द्र लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

आगामी कात्तिक १४ गते काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुने अन्तिम प्रतिस्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगितामा गृहिणीदेखि चिकित्सक, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स तथा फेसन डिजाइनरसम्म विभिन्न पेसामा आबद्ध महिलाहरू सहभागी छन्। आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रहेका प्रतियोगीहरूले सौन्दर्यसँगै प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र सिर्जनात्मक क्षमता प्रस्तुत गर्ने अवसर पाएका छन्।

 

प्रतियोगिताबाट छानिने ‘मिसेस नेपाल वर्ल्ड २०२६’ की विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। यसै मञ्चबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’ का विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ।

आयोजक शिला बास्तोलाका अनुसार ती उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्। यसले नेपाली महिलालाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

अश्विनी झाको कोरियोग्राफी तथा निशा बराइलीको सह–कोरियोग्राफीमा सञ्चालन हुने प्रतियोगिता गङ्गा महर्जन र विन्दिया श्रेष्ठको संयोजनमा सम्पन्न हुनेछ। अन्तिम स्पर्धामा विभिन्न उपाधिका विजेतासँगै प्रतियोगीहरूको प्रतिभा, व्यक्तित्व र आत्मविश्वाससमेत मूल्यांकन गरिनेछ।