ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ कात्तिक
वरिष्ठ गायक आनन्द कार्की र गायक दुर्गेश थापाबिचको पारिश्रमिक विवाद झनै चर्किएको छ । यसबारे दुर्गेसले विज्ञप्ति निकालेको तीन दिन पछि आज आनन्द कार्कीले पनि प्रेस विज्ञप्ति जारी गर्दै फेरी आफ्नो पारिश्रमिकको माग गरेका छन् । उनले पारिश्रमिक विवादबारे आज एक विज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कलाकारको श्रमको उचित मूल्य र व्यावसायिक जिम्मेवारी सुनिश्चित हुनुपर्ने बताएका छन्। उनले आफूले गीत रेकर्ड गराएको तथा चलचित्र ‘रंगी’का लागि स्वर दिएको पारिश्रमिक प्राप्त गर्न करिब एक वर्ष कुर्नुपरेको खुलासा गरेका हुन्।
दुर्गेश थापाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा केही महत्त्वपूर्ण घटनाक्रम छुटेको भन्दै कार्कीले आफ्नो पक्ष स्पष्ट पारेका छन्। उनले आफ्नो उद्देश्य कसैलाई बदनाम गर्नु नभई कलाकारको श्रम, पारिश्रमिक र व्यावसायिक इमानदारीको विषयमा ध्यानाकर्षण गराउनु रहेको बताएका छन्।
कार्कीका अनुसार दुर्गेशसँगको आत्मीय सम्बन्ध र विश्वासका कारण उनले सुरुमा पारिश्रमिकका लागि धैर्यपूर्वक प्रतीक्षा गरेका थिए। तर, पटक–पटक फोन, एसएमएस र मेसेन्जरमार्फत सम्पर्क गर्दा पनि समयमै समस्या समाधान हुन सकेन। अन्ततः पारिश्रमिक प्राप्त भए पनि त्यसका लागि लामो समय कुर्नुपरेको उनको भनाइ छ। तथापि दुर्गेसले आफुलाई पारिश्रमिक दिएको भने उनले विज्ञप्तिमा खुलाएका छन् ।
उनले आफ्नो असन्तुष्टि रकममा मात्र सीमित नभएको उल्लेख गर्दै भुक्तानीमा भएको ढिलाइ, संवादको अभाव र व्यावसायिक जिम्मेवारीप्रतिको अपेक्षालाई मुख्य विषयका रूपमा यो विज्ञप्तिमा समेत उठाएका छन्।
यसैबीच, चलचित्र ‘रंगी’को पारिश्रमिकबारे निर्माता शोभित बस्नेतसँग भएको कुराकानीलाई पनि कार्कीले महत्त्वपूर्ण घटनाक्रमका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार शोभितले फोन गरेर चलचित्रका लागि डेढ लाख रुपैयाँको प्याकेजमा जिम्मेवारी दिइएको र कार्कीको पारिश्रमिक भुक्तानी नभएको विषय आफूले पछि मात्र थाहा पाएको बताएका थिए।
कार्कीका अनुसार शोभितले पारिश्रमिक भुक्तानीका लागि पहल गर्दै क्यूआर कोड पठाउन आग्रह गरेका थिए। उनले पनि क्यूआर पठाइसकेको बताएका छन्। शोभितको पहललाई सकारात्मक रूपमा लिएका कार्कीले काम सम्पन्न भएपछि कलाकारको पारिश्रमिक भुक्तानीको जिम्मेवारी कसले लिने र त्यसको सुनिश्चितता कसरी गर्ने भन्ने प्रश्न उठाएका छन्। व्यावसायिक सहकार्यमा जिम्मेवारी र समन्वय स्पष्ट नहुँदा कलाकारले अनावश्यक दुःख र अन्योल भोग्नुपर्ने अवस्था आउन नहुने उनको धारणा छ।
नेपाली संगीत क्षेत्रमा चार दशकभन्दा बढी समय बिताएका कार्कीले हजारौँ गीत गाउने अवसरसँगै श्रोताको अपार माया पाएको उल्लेख गरेका छन्। नयाँ पुस्ताका कलाकारलाई पनि आफूले सकेसम्म माया, साथ र सहयोग गर्दै आएको बताउँदै उनले आफ्नो आवाज कुनै व्यक्तिविरुद्ध नभई कलाकारको श्रम र अधिकारको पक्षमा रहेको स्पष्ट पारेका छन्।
दुर्गेशप्रति आफ्नो माया, शुभकामना र आशीर्वाद यथावत् रहेको उल्लेख गर्दै कार्कीले सफलतासँगै अरूको श्रमप्रतिको सम्मान, वचनप्रतिको प्रतिबद्धता र व्यावसायिक जिम्मेवारी पनि बलियो हुनुपर्ने बताएका छन्। ‘कलाकारको पारिश्रमिक दया वा उपकार होइन, उसको श्रमको न्यायोचित मूल्य हो,’ कार्कीको भनाइ छ। आत्मीयता जिम्मेवारीबाट उन्मुक्ति नभई विश्वासलाई अझ मजबुत बनाउने आधार भएको उनको धारणा छ।
आफूले भोगेको यथार्थ सार्वजनिक गर्नुको उद्देश्य व्यक्तिगत वैमनस्य नभई नेपाली संगीत तथा चलचित्र क्षेत्रमा पारदर्शिता, समयमै पारिश्रमिक भुक्तानी र पारस्परिक सम्मानको संस्कार विकास गर्नु रहेको कार्कीले बताएका छन्। उनले कलाकारको स्वरको सम्मान गर्न, श्रमको उचित मूल्य सुनिश्चित गर्न तथा व्यावसायिक सम्बन्धमा इमानदारी र जिम्मेवारी कायम राख्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्।









