देशभरका चलचित्र घरमा ‘छ माया छपक्कै २’ रिलिज, दर्शकको उत्साहजनक उपस्थिति


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ असोज

यस वर्षको बहुप्रतीक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका चलचित्र घरमा प्रदर्शनमा आएको छ। दसैँको पहिलो दिन अर्थात् फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रले पहिलो दिनमै दर्शकको उत्साहजनक साथ पाएको छ।

चलचित्रका यसअघि सार्वजनिक दुई गीत र ट्रेलरले दर्शकमाझ उत्सुकता बढाएको थियो। आज बिहानदेखि चलचित्र प्रदर्शन सुरु भएसँगै विभिन्न चलचित्र घरमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको निर्देशक दीपेन्द्र लामाले ब्युटी न्युज नेपाललाई जानकारी दिए। पहिलो दिन दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित भएको पनि उनले बताए।

दसैँमा प्रदर्शन हुने नेपाली चलचित्रको व्यापार सामान्यतया फूलपातीको तुलनामा अष्टमीदेखि बढ्ने र टीकाको दिन चलचित्र घरमा दर्शकको चाप बढी हुने गरेको छ। यस्तो अवस्थामा प्रदर्शनको पहिलो दिनमै दर्शकको राम्रो उपस्थिति देखिनुले चलचित्रको व्यापारप्रति निर्माण पक्ष आशावादी बनेको छ।

सात वर्षअघि प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ खानेपानीको समस्या र त्यससँग जोडिएको राजनीतिक विषयवस्तुमा केन्द्रित थियो। त्यसैको सिक्वेलका रूपमा निर्माण गरिएको ‘छ माया छपक्कै २’ मा भने पारिवारिक कथालाई प्राथमिकता दिइएको निर्देशक लामाले बताए। यसपटक चलचित्रमा राजनीतिक विषयवस्तुलाई तुलनात्मक रूपमा कम स्थान दिइएको पनि उनले स्पष्ट पारे।

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, शनिसा भट्टराई, दीपाश्री निरौला, प्रकाश घिमिरे, कर्मा, रमा थपलिया, नवीन लम्साल, रियान गिरी, मेक्सम गौडेल, निर्मल शर्मा र रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको कथा निर्देशक दीपेन्द्र लामा र दीपकराज गिरीले तयार पारेका हुन् भने पटकथा तथा संवाद दीपकराज गिरीको रहेको छ। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको प्रस्तुति रहेको चलचित्रका निर्माता रोहित अधिकारी हुन्। निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माताका रूपमा रहेका छन्।