ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० असोज
यस वर्षको प्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ आज शुक्रबारदेखि नेपालभरका चलचित्रघरमा प्रदर्शनमा आएको छ। बडादसैँको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रले पारिवारिक सम्बन्ध, आमाको माया, त्याग र सन्तानप्रतिको समर्पणको भावनात्मक कथा प्रस्तुत गरेको छ। चलचित्र नेपालसँगै अमेरिका, क्यानडा र जापानलगायतका देशमा पनि प्रदर्शनमा आएको छ। यो चलचित्रको आज मध्यान्नबाट धेरै ठाउँमा शोहरु हासउफुल भएको छ । भोलीको लागि अग्रिम टिकट निकै राम्रो गएको निर्माण पक्षले जनाएको छ । आजको पहिलो शोमा चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको यो चलचित्र गत वर्ष व्यावसायिक रूपमा सफल भएको ‘आ बाट आमा’को दोस्रो शृङ्खला हो। पहिलो भागले नेपाली बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। त्यसैले पनि यसको दोस्रो भागलाई दर्शकले प्रतीक्षाका साथ हेरेका छन्।
चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको अभिनय छ। भारतीय अभिनेता प्रदीप रावत पनि चलचित्रमा देखिएका छन्। चलचित्रको ट्रेलरमा आमा र सन्तानबीचको सम्बन्ध, प्रेम, बिछोड, पारिवारिक सङ्घर्ष र भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ। ट्रेलर सार्वजनिक भएपछि चलचित्रले दर्शकमाझ चर्चा पाएको थियो। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रको नेपाल वितरण आरआर फिल्म्सले गरेको छ। चलचित्रले दसैँको बिदामा पारिवारिक दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।









