ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ असोज
आमा र सन्तानबीचको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्ने चलचित्र ‘आ बाट आमा २’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पीजी’ प्रमाणपत्र प्राप्त गरेको छ। आगामी शुक्रबार अर्थात् असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले यस्तो प्रमाणपत्र पाएसँगै १६ वर्षमुनिका दर्शकले अभिभावकको साथमा मात्र हेर्न पाउनेछन्।
चन्द्र पन्तको कथा तथा निर्देशनमा बनेको यस चलचित्रमा विपना थापा, पल शाह र मलिका महत मुख्य भूमिकामा छन्। साथै रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको ट्रेलर, टिजर तथा गीतहरूले प्रदर्शनअघि नै दर्शकमाझ चर्चा बटुलेका छन्। सार्वजनिक विवरणअनुसार, ट्रेलरले रिलिज भएको एक दिनमै ३७ लाखभन्दा बढी भ्युज पाएको थियो। दसैँ गीत ‘क्या दामी देखिया’ ले छ दिनमा ४३ लाखभन्दा बढी र ‘अचेल किन कान्छी’ ले ६४ लाखभन्दा बढी भ्युज प्राप्त गरेका छन्।
रोशन भट्ट र चन्द्र पन्तको लेखन रहेको चलचित्रको संवाद रोशन भट्टले तयार पारेका हुन्। नवराज उप्रेतीको छायाङ्कन, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। ओएसआर डिजिटल डिजिटल साझेदार रहेको चलचित्रलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्दैछ।









