ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ असोज
आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै २’ को ट्रेलर सार्वजनिक भएको छ। हास्यरस र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखिएको ट्रेलरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन्।
सात वर्षअघि प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ को कथालाई निरन्तरता दिँदै निर्माण गरिएको चलचित्रमा सन्तान प्राप्तिका लागि दम्पतीले गर्ने संघर्षलाई हास्य शैलीमा प्रस्तुत गरिएको छ। ट्रेलरमा पारिवारिक सम्बन्धका उतारचढाव, रमाइला संवाद र विभिन्न परिस्थितिबाट उत्पन्न हुने हास्यलाई प्राथमिकता दिइएको छ। अभिनेत्री सनीशा भट्टराईको प्रवेशले पनि कथामा नयाँ मोड थप्ने संकेत गरेको छ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रमा दीपाश्री निरौला, प्रकाश घिमिरे, कर्मा, रमा थपलिया, रियान गिरी, म्याक्सम गौडेल, निर्मल शर्मा र रविन्द्र झासहितका कलाकारको अभिनय छ।
आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको प्रस्तुति रहेको चलचित्रका निर्माता रोहित अधिकारी हुन्। निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता छन्।
चलचित्रको कथा निर्देशक दीपेन्द्र लामा र दीपकराज गिरीले तयार पारेका हुन् भने पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका छन्। पारिवारिक विषयवस्तुलाई हास्यसँग जोडिएको यस चलचित्रले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा निर्माण पक्षको छ।









