ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ असोज
नेपाली चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण चलचित्रले प्रदर्शनको गति कायम राखेको निर्माण पक्षले जनाएको छ। पारिवारिक कथा र बाबुको त्याग तथा संघर्षलाई पर्दामा उतारेको चलचित्रलाई दर्शकले हेर्नैपर्ने सिनेमा भन्दै प्रशंसा गरिरहेका छन्।
चलचित्रका कलाकार तथा निर्देशकसहितको निर्माण टोली देशका विभिन्न सहरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरी काठमाडौँ फर्किएको छ। टोलीले हेटौँडा, चितवन, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ र पोखरालगायतका सहरमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो।
निर्देशक हरि लम्सालले काठमाडौँसँगै मोफसलका दर्शकबाट पनि चलचित्रले राम्रो साथ पाएको बताए। “हामीलाई काठमाडौँमा जस्तै मोफसलका दर्शकले पनि साथ दिनुभयो। दर्शकले हेर्नैपर्ने सिनेमा भनेर प्रतिक्रिया दिनुभएको छ। दर्शकको साथ र मायाले चलचित्र तेस्रो सातामा प्रदर्शन भइरहेको छ,” उनले भने।
प्रदर्शनको सुरुवाती १० दिनमा चलचित्रले एक करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले चलचित्रको प्रदर्शनलाई थप ऊर्जा दिएको निर्माण पक्षको विश्वास छ।
‘बाः एक योद्धा’ले नेपाली समाजमा सन्तानको भविष्य निर्माणका लागि बाबुले गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने चुनौतीलाई कथाको मुख्य विषय बनाएको छ। सन्तानको इच्छा पूरा गर्न आमाबाबुले गर्ने संघर्षदेखि वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने उपेक्षा र दुःखसम्मका विषयलाई चलचित्रमा प्रस्तुत गरिएको छ। पारिवारिक सम्बन्ध, अभिभावकको समर्पण र सन्तानप्रतिको जिम्मेवारीलाई उजागर गर्ने चलचित्रले दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको छ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक हरि लम्साल हुन्। चलचित्रका निर्माता वसन्त लम्साल र कार्यकारी निर्माता अनिल बुढाथोकी रहेका छन्। त्यसैगरी अर्जुन पौडेलले लाइन प्रोड्युसर तथा कृष्ण काफ्लेले सह–निर्माताको जिम्मेवारी निर्वाह गरेका छन्।









