फिल्म टनेल २६ रिलिज भन्दा करिब ६ घन्टा अघि किन गरियो स्थगित ?


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ असोज

प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया पाए पनि केही दृश्यमा संवादको स्वरांकन (लिपसिङ्क) नमिलेपछि चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ को नेपाल र भुटान प्रदर्शन अन्तिम समयमा स्थगित गरिएको छ। असोज २३ गते (९ अक्टोबर)देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको रिलिज निर्माण टिमले शुक्रबार बिहान चलचित्र घरमा फिल्म लाग्नु भन्दा करिब ६ घण्टाअघि स्थगित गरेको हो।

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्रको बिहीबार साँझ ललितपुरस्थित लबिम मलमा रहेको क्युएफएक्स सिनेमाजमा ग्राण्ड प्रिमियर गरिएको थियो। प्रिमियरमा सहभागी दर्शक तथा चलचित्रकर्मीले फिल्मको एक्सन, थ्रिलर पक्ष, ध्वनि संयोजन र प्रस्तुतिको प्रशंसा गरेका थिए।

तर, चलचित्र समग्रमा प्रभावशाली बने पनि केही दृश्यमा संवाद र पात्रको ओठको चालबीच तालमेल नमिलेको अर्थात् लिपसिङ्कमा समस्या देखिएको थियो। प्रिमियरपछि निर्माण टिमलाई उक्त समस्या सुधार गरेर मात्र चलचित्रलाई हलमा प्रदर्शन गर्न सुझावसमेत दिइएको थियो।

प्रिमियर सकिएलगत्तै चलचित्रका निर्माता तथा निर्माण टिमबीच आकस्मिक बैठक बसेको थियो। अभिनेता एवं निर्माता प्रदीप खड्कासहित अन्य निर्माताले चलचित्रको समग्र पक्ष राम्रो भए पनि केही स्थानमा देखिएको लिपसिङ्कको समस्या सुधार गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

सम्बन्धित दृश्यमा पुनः स्वरांकन (डबिङ) गरेर प्राविधिक समस्या सुधार्दा चलचित्र अझ प्रभावकारी बन्ने निष्कर्षमा निर्माण टिम पुगेपछि निर्धारित रिलिज स्थगित गर्ने निर्णय गरिएको हाम्रो समाचार सुत्रले जनाएको छ । नेपालमा मात्र नभई सोही दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको भुटानको रिलिजसमेत स्थगित गरिएको छ।

रिलिज स्थगित गर्ने निर्णयपछि निर्माण टिमले बिहीबार राति करिब १ः१५ बजे अर्थात् शुक्रबार बिहान हुनै लाग्दा सूचना जारी गर्दै पूर्वनिर्धारित प्रदर्शन स्थगित भएको जानकारी दिएको थियो।

निर्माण टिमले जारी गरेको सूचनामा भने चलचित्रलाई नेपाल र भुटानमा मात्र सीमित नराखी नेपाली, भुटानी, हिन्दी र अंग्रेजी भाषामा विश्वका विभिन्न देशमा प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ। आवश्यक प्रक्रिया तथा व्यवस्थापन पूरा भएपछि चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने बताइएको छ।

निर्धारित समयमा चलचित्र प्रदर्शन हुन नसकेकोमा निर्माण टिमले दर्शक, सञ्चारकर्मी, प्रदर्शक तथा शुभेच्छुकहरूप्रति क्षमायाचना गर्दै चलचित्रप्रति देखाएको माया, उत्साह र विश्वासका लागि आभार व्यक्त गरेको छ।

‘टनेल २६’ माउन्टेन तथा सुरुङको रहस्यमा आधारित एक्सन–थ्रिलर चलचित्र हो। निर्माण टिमले प्राविधिक सुधारपछि चलचित्रलाई अझ व्यापक रूपमा विश्वका दर्शकमाझ पुर्‍याउने तयारी गरेको छ।