कांग्रेसको मतदानमा मध्यान्हसम्म १ हजार २९३ मत खस्यो


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ असोज

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान भइरहेको छ। शुक्रबार बिहान ७ बजेबाट सुरु गर्ने भनिएको मतदान करिब एक घण्टा ढिलो गरी सुरु भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अपराह्न ३ बजेसम्म मतदान सम्पन्न गर्ने लक्ष्य छ।

नेपाल लाइभका अनुसार बिहान ८:३० देखि १०:३० बजेसम्मको अवधिमा विभिन्न प्रदेशबाट १ हजार २९३ मत खसेका थिए। उक्त अवधिमा कोशी प्रदेशबाट २२२, कर्णाली र सुदूरपश्चिमबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमतीबाट २१७ मत खसेको विवरण सार्वजनिक भएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधि मतदाता छन्। प्रत्येक प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो हुने अनुमान गरिएको छ। एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्न सक्ने बताइएको छ।

यसपटक पार्टी सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यसहित विभिन्न पदमा प्रतिस्पर्धा भइरहेको छ। सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा छ। अन्तिम उम्मेदवार सूचीमा ८११ जनाको नाम रहेको र तीन जना निर्विरोध निर्वाचित भइसकेको विवरण सार्वजनिक भएको छ।

राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन् भने खुलामञ्चमा अन्य प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि मतदान केन्द्र बनाइएको छ। मतदान सकिएपछि मतपेटिका ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगेर मतगणना सुरु गर्ने तयारी छ।

मतदान अपराह्न ३ बजेसम्म सकिएमा त्यसपछि मतगणना सुरु हुने अपेक्षा गरिएको छ। तर २३ प्रकारका मतपत्र र ठूलो सङ्ख्यामा उम्मेदवार रहेकाले सबै पदको अन्तिम परिणाम सार्वजनिक हुन कति समय लाग्छ भन्नेबारे निर्वाचन समितिले निश्चित समय तोकेको छैन।