‘झिंगे दाउ २’को ‘ए माया नजिकै सर’मा देखियो दशैंको झल्को


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० भदौ

तीजको माहोल सेलाउन नपाउँदै नेपाली चलचित्र ‘झिंगे दाउ २’ले दर्शकमाझ दशैंको झल्को दिने नयाँ गीत सार्वजनिक गरेको छ। असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ‘ए माया नजिकै सर’ बोलको गीत सोमबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू रातो टीका र जमरासहित दशैंको उल्लासमा रमाइरहेको देख्न सकिन्छ। रोटे पिङमा रमाउँदै गरेका कोरस कलाकारसहितको दृश्यले नेपाली गाउँघरको दशैंको वातावरणलाई प्रस्तुत गरेको छ। यसअघि चलचित्रको ‘जेठानी–देउरानी’ बोलको तीज गीत सामाजिक सञ्जालमा चर्चामा रहँदै आएको अवस्थामा निर्माण पक्षले दशैं लक्षित गीत सार्वजनिक गरेको हो।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्टको नृत्य देख्न सकिन्छ। भिडियोमा केकी र आँचलबीचको झगडालाई समेत रोचक ढंगले प्रस्तुत गरिएको छ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रमा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा छन्।

विष्णु घिमिरे ‘कल्पित’को छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्। चलचित्रमा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी र आशा भुसाललगायत कलाकारको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ। चलचित्रको टिजर र ट्रेलरले दर्शकको ध्यान खिचिसकेको निर्माण पक्षको दाबी छ।