ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ भदौ
नेपाली चलचित्रमा एक समय व्यस्त अभिनेताका रूपमा स्थापित सुशान्त कार्की लामो अन्तरालपछि दर्शकमाझ फर्किएका छन्। चलचित्रमा सक्रिय रहँदै अष्ट्रेलिया पुगेका सुशान्त करिब आठ वर्षपछि यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेहुली’मार्फत पुनः पर्दामा देखिन लागेका हुन्।
अभिनय यात्राको सुरुवाती चरणमा विभिन्न भूमिकामार्फत दर्शकको ध्यान खिच्न सफल सुशान्तले पछिल्लो समय अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका थिए। लामो समय नेपाली चलचित्रबाट टाढा रहे पनि अभिनयप्रतिको मोह भने कायमै राखेका उनले ‘बेहुली’बाट फरक र चुनौतीपूर्ण भूमिकासहित कमब्याक गरेका छन्।
शशान कँडेलको निर्देशनमा तयार भएको ‘बेहुली’मा सुशान्त ‘एंग्री योङ पुलिस अफिसर’ अर्थात् आक्रामक र कडा स्वभावको प्रहरी अधिकृतको भूमिकामा प्रस्तुत हुँदैछन्। उनको भूमिकाको चर्चा चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै चुलिएको छ। विशेषगरी प्रहरीको खाकी बर्दीमा उनको सुगठित शरीर, आक्रामक हाउभाउ र ‘रफ एन्ड टफ’ लुकले दर्शकको ध्यान तानेको छ।
सुशान्तले यो भूमिकाका लागि शारीरिक रूपमा समेत निकै मिहिनेत गरेका छन्। हालै आयोजित ट्रेलर रिलिज कार्यक्रममा आफ्नो शारीरिक बनावटबारे प्रश्न हुँदा उनले चरित्रलाई न्याय दिन सुटिङको समयमा नुन र पानीसमेत छाडेको खुलासा गरेका थिए। प्रहरी अधिकृतको भूमिकामा आफूलाई फिट देखाउन उनले गरेको यो त्यागले उनको अभिनयप्रतिको प्रतिबद्धता देखाउँछ।
निर्माण पक्षले सार्वजनिक गरेका तस्बिर तथा भिडियोमा समेत सुशान्तको कठोर शारीरिक तयारी देखिन्छ। जिममा गरेको नियमित मिहिनेत र शारीरिक अभ्यासपछि उनी मस्कुलर तथा फिट अवतारमा पर्दामा देखिएका छन्। यसपटकको उनको प्रस्तुति विगतका चलचित्रमा देखिएको ‘लभर ब्वाई’ छविभन्दा निकै फरक र आक्रामक देखिन्छ।
आठ वर्षपछि पर्दामा फर्किएका सुशान्तका लागि ‘बेहुली’ केवल कमब्याक चलचित्र मात्र नभई अभिनय करिअरको नयाँ अध्याय बन्न सक्ने देखिएको छ। फरक चरित्रमा आफूलाई ढाल्ने उनको प्रयासले अभिनयको दायरा विस्तार गर्ने सम्भावना देखाएको छ। एक्सन र ड्रामाले भरिएको प्रहरी चरित्रमा उनले गरेको शारीरिक तथा मानसिक तयारीले चलचित्रप्रतिको दर्शकको कौतुहलता थप बढाएको छ।
चर्चित संगीतकार अर्जुन पोखरेलको प्रस्तुति तथा प्रताप शमसेर राणाको निर्माण रहेको ‘बेहुली’मा सुशान्तसँगै पारस बम ठकुरी ‘कुल ब्वाय’, दिव्या रायमाझी, सरिता गिरी, कर्मा लामा, सन्तोष बानिया र पदम तामाङलगायत कलाकारको अभिनय छ। पारिवारिक ड्रामा, रोमान्स र एक्सनको मिश्रण रहेको चलचित्र भदौ २६ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ।
नेपाली चलचित्रबाट लामो समय टाढा रहेका सुशान्तको पुनरागमनलाई उनका पुराना दर्शकले कसरी लिनेछन् र ‘रफ एन्ड टफ’ प्रहरीको भूमिकाले नयाँ दर्शकमाझ उनको प्रभाव कस्तो बनाउनेछ भन्ने कुरा भने ‘बेहुली’ प्रदर्शनपछि नै स्पष्ट हुनेछ।






