ब्युटी न्युज नेपाल
काठमाडौं १९ भदौ,
रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये आज १० औँ दिन दुई जनाको आज जीवितै उद्धार गरिएको छ ।
शुक्रबार बिहान उद्धार गरिएका पहिलो ब्यक्ति सञ्जय साह हुन् । साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् ।
यस्तै त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका अर्का व्यक्ति कविर महर्जन हुन र उनको पनि जीवितै आज उद्धार भएको हो। कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए ।
साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ ।
उनीसँगै उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ । उनलाई हेलिकप्टरमार्फत ल्याइँदै छ ।
रसुवा बाढीको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले कविर महर्जन र सञ्जय साहको जीवित्तै उद्धार गरेको थियो ।
त्रिशूली थ्री–ए को सुरुङबाट उद्धार गरिएका सञ्जय शाहले आफू भित्र मन्त्र जप्दै बसेको बताएका छन् । सप्तरीका उनले नेपाली सेनाको स्वास्थ्य टोलीसँग कुरा गर्दै ‘महामन्त्र जप गर्दै बसेको’ बताए ।
उनले भने, ‘म कन्ट्रोल रुममा कार्यरत् थिएँ, मेरो दायित्व सबैको ज्यान बचाउनु थियो ।’ सबैलाई भाग्न लगाउँदा आफ्नो समय अन्तिममा आएको र निस्किनै नपाएको उनले बताएका छन् । अरू केही व्यक्ति सुरुङभित्र आफू नजिकै भएको उनले बताएका छन् ।






