कुन कलाकारले कती गरे बाढी पीडितलाई सहयोग (हेर्नुस विवरण)


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ भदौ

भोटेकोशी–त्रिशूलीलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितका लागि नेपाली कलाकार, संगीतकर्मी, चलचित्रकर्मी तथा विभिन्न संघसंस्थाले आर्थिक सहयोग गरेका छन्। पछिल्लो समय कलाकार तथा संगीत क्षेत्रका व्यक्तिहरूले व्यक्तिगत तथा सामूहिक रूपमा राहतका लागि रकम प्रदान गरिरहेका छन्।

कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठले बाढीपीडितका लागि सबैभन्दा ठूलो रकम २१ लाख रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, चलचित्र ‘गौँथली’ परिवारले १४ लाख तथा चलचित्र ‘पार्वती’ टिमले झण्डै १२ लाख रुपैयाँ सहयोग गरेको छ।

गायक सुशान्त केसीले १० लाख रुपैयाँ सहयोग गरेका छन् भने ओएसआर डिजिटलले पाँच लाख एक हजार रुपैयाँ, पारस बम ठकुरी ‘कुल ब्वाय’ र जोन एन्डी लोकल्स ब्याण्डले पाँच–पाँच लाख रुपैयाँ प्रदान गरेका छन्।

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले तीन लाख, अभिनेत्री वर्षा शिवाकोटीले तीन लाख, भुवन–बसुन्धरा–चैत्य फाउण्डेशनले तीन लाख तथा नीति शाह र त्रिसरा रेस्टुरेन्टले तीन लाख रुपैयाँ सहयोग गरेका छन्।

विपना थापा तथा डा. आशुतोष भारद्वाजले दुई लाख ५१ हजार १११ रुपैयाँ, चलचित्र ‘बा ए योद्धा’ टिम र ‘मह जोडी’ले दुई–दुई लाख रुपैयाँ सहयोग गरेका छन्। अभिनेता विराज भट्टले एक लाख ५१ हजार, गीतकार संघ नेपालले एक लाख १५ हजार तथा चलचित्र ‘युग’ टिमले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको विवरणमा उल्लेख छ।

गायिका रचना रिमाल, बेनिशा पौडेल, मेलिना राई, गायक प्रकाश सपूत तथा बिनिता कार्कीले पनि सहयोग गरेका छन्। रचना, बेनिशा, मेलिना र प्रकाशले एक–एक लाख रुपैयाँ तथा बिनिता कार्कीले ६१ हजार २४२ रुपैयाँ सहयोग गरेकी छन्।

रोहित अधिकारीले ५१ हजार ५००, विपिन कार्की, जितु नेपाल र चक्र बमले ५१–५१ हजार रुपैयाँ सहयोग गरेका छन्। माल्भिका सुब्बा, शान्तिश्री परियार, टीका सानु र गोविन्द शाहीले ५०–५० हजार रुपैयाँ प्रदान गरेका छन्।

सुशील पोखरेलले ३३ हजार ३३३ रुपैयाँ, हिमाल सागरले २७ हजार ७७७ रुपैयाँ तथा शिव परियार, एलिना चौहान, चन्द्र शर्मा, दीपिका व्याम्बु, प्रताप दास, अर्जुन सापकोटा, मञ्जु पौडेल र न्यान्सी खड्काले २५–२५ हजार रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै, शिवशंकर रिजाल र राधिका हमालले २१–२१ हजार, किरण केसी र मेनुका माझीले २०–२० हजार तथा रामकृष्ण ढकाल र आनन्द कार्कीले ११–११ हजार रुपैयाँ सहयोग गरेका छन्।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि कलाकार तथा चलचित्रकर्मीहरूले पीडितको राहत र उद्धारमा आफ्नोतर्फबाट सहयोग गर्दै आएका छन्। उनीहरूले विपत्तिको समयमा पीडित नागरिकसँग ऐक्यबद्धता जनाउँदै सकेको सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन्।