ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ भदौ
अभिनेत्री सुहाना थापाले चलचित्र ‘बा: एक योद्धा’ आफ्ना लागि फरक अनुभव भएको बताउँदै दर्शकलाई चलचित्र हेर्न आग्रह गरेकी छन्। हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ।
सुहानाका अनुसार चलचित्रको कथा र उनले निर्वाह गरेको पात्र यसअघिका कामभन्दा भिन्न छन्। विशेषगरी सन्तानको भविष्य र खुसीका लागि आमाबुवाले गर्ने त्याग, संघर्ष तथा समर्पणलाई चलचित्रले भावनात्मक रूपमा प्रस्तुत गरेको उनको भनाइ छ।
आफ्ना आमाबुवाले सन्तानका लागि गरेका त्यागलाई सम्झिए पनि त्यसबारे खुलेर व्यक्त गर्न नसक्ने अवस्थालाई चलचित्रले कथामार्फत प्रस्तुत गरेको सुहानाले बताइन्। चलचित्रमा आफ्नो पात्रमार्फत बुवाले सन्तानका लागि गर्ने त्यागलाई नजिकबाट बुझ्ने अवसर पाएको उनको अनुभव छ।
‘बा: एक योद्धा’मा भावनात्मक पक्षसँगै दर्शकलाई जोड्ने तथा मनोरञ्जन दिने विषयसमेत रहेको सुहानाको भनाइ छ। चलचित्र हेर्दा दर्शकले आफ्नै परिवार र सम्बन्धका केही प्रसंगसँग जोडिएको महसुस गर्ने उनको विश्वास छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुहानासँगै दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
वसन्त लम्साल निर्माता रहेको चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन्। चलचित्रको वितरण कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।






