ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० साउन
शनिवार बेलुका काठमाडौँको एक होटेलमा आयोजना गरिएको तेस्रो संस्करणको इन्फा अवार्ड–२०२६ मा वरिष्ठ हास्यव्यँग्य अभिनेता एवम् गायक मदनकृष्ण श्रेष्ठलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो ।
सम्मान ग्रहणपछि कलाकार मदनकृष्णले आफूलाई मस्तिष्कले दिनदिनै काम गर्न असजिलो बनाएका तर आफूले जबरजस्ती काम गरिरहेको बताए । समारोहमा उनले आफ्ना चर्चित चार वटा गीतका अंश पनि सुनाए । गत महिना चलचित्र विकाश बोर्डले आफूलाई प्रदान गरेको लाइफ टाइम एचिभमेन्ट अवार्डको पनि उनले स्मरण गरे ।
विगत एक दशकदेखि पार्किन्सन्स समस्याबाट पीडित कलाकार मदनकृष्णले आजकाल आफूलाई बोल्न र हिँड्न निकै अप्ठेरो हुने गरेको बताए । कार्यक्रममा उनले भने,‘हिँड्दा हिँड्दै कसैले नमस्कार गर्यो भने नमस्कार त फर्काउँछु , तर त्यसपछि खुट्टाले हिँड्न बिर्सन्छ । यस्तै साँघुरो बाटो, घुम्ती, भर्याङ, ढोका आदिमा हिँड्ने क्रममा खुट्टाले काम गर्न छाडेका कारण एक जना साथी मलाईसँगै चाहिन थालेको छ ।’
आफूलाई स्वास्थ्यले साथ नदिए पनि अभिनय गर्न नछाड्ने प्रतिबद्धता उनले सो कार्यक्रममा बताए । गत वर्ष आफूले चलचित्र पराना, पहाडमा अभिनय गरेको स्मरण सुनाउँदै यस पटक पनि केही चलचित्रमा अभिनय गर्न लागेको उनले बताए । आफ्नो शरीर र दिमागले साथ दिएसम्म अभिनयलाई निरन्तर अघि बढाउने उनले सो सम्मान समारोहमा दर्शकसामु प्रतिबद्धता जनाए ।



