ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ असोज
छाउपडी प्रथासँग जोडिएको सामाजिक विकृति र हलीको जीवनकथालाई पर्दामा उतारेको नेपाली चलचित्र ‘हली’ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ। गत साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले ५१ औँ दिनको अवसरमा धनकुटामा विशेष कार्यक्रमसमेत आयोजना गरेको छ।

शनिबार धनकुटास्थित धनकुटा सिनेमा प्रालिमा आयोजित कार्यक्रममा चलचित्रका निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठसहित कलाकारहरूको टोलीले दर्शकसँग प्रत्यक्ष भेटघाट तथा साक्षात्कार गरेको थियो। चलचित्रले लामो समयसम्म हलमा प्रदर्शन निरन्तरता पाएको खुसीयाली दर्शकसँगै साट्न आफूहरू धनकुटा पुगेको निर्माता पूजा गुरुङले बताइन्।
उनका अनुसार दर्शकबाट प्राप्त माया, साथ र सकारात्मक प्रतिक्रियाकै कारण चलचित्रले ५१ औँ दिनसम्मको यात्रा तय गर्न सफल भएको हो।
‘एउटा हलीले पनि देशको मुहार बदल्न सक्छ’ भन्ने सन्देश प्रस्तुत गर्ने चलचित्रले छाउपडी प्रथाका नाममा महिलामाथि हुने विभेद र अन्धविश्वासलाई कथाको मुख्य विषय बनाएको छ। चलचित्रमा छाउपडीका क्रममा २१ दिनसम्म बुवा वा पुरुषको अनुहार हेर्न नहुनेजस्ता सामाजिक कुसंस्कारलाई कथामार्फत प्रस्तुत गरिएको छ।
ओमप्रतिकको लेखन तथा निर्देशन रहेको ‘हली’मा पूजा गुरुङ र जस्मिन श्रेष्ठको संयुक्त लगानी छ। चलचित्रमा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ।



