ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ असोज
अभिनेता विजय बराललाई अहिलेसम्मकै फरक अवतारमा प्रस्तुत गर्दै चलचित्र ‘जिरो डिग्री’ले प्रदर्शन मिति तय गरेको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको डार्क कमेडी चलचित्र आगामी माघ १५ गते अर्थात् जनवरी २९, २०२७ देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने भएको हो। प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको नयाँ पोस्टरसमेत सार्वजनिक गरेको छ। पोस्टरमा विजयलाई ‘पुन्य चौलागाईँ’ पात्रको भूमिकामा देखाइएको छ। ढाका टोपी, बाक्लो जुँगा, चस्मा र परम्परागत पहिरनमा घोडामाथि सवार विजयको अगाडि–पछाडि पंखा बोकेर हिँडिरहेका पात्र देखिन्छन्। पोस्टरको यो प्रस्तुतिले चलचित्र हास्य तथा व्यङ्ग्यात्मक शैलीमा आधारित रहेको संकेत गर्छ।
‘जिरो डिग्री’को कथा सडक सञ्जालको पहुँच कमजोर रहेको विकट गाउँको परिवेशमा अघि बढ्छ। आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान घर नफर्किएसम्म शवलाई सुरक्षित राख्न गाउँमा ‘डीप फ्रिज’ पुर्याउने क्रममा आइपर्ने घटनाक्रमलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ। यसअघि निर्माण पक्षले गाउँलेहरूले पहाडी बाटोमा ठूलो काठको बाकस बोकेर हिँडिरहेको पोस्टर सार्वजनिक गरेको थियो।
कास्कीका धिताल गाउँ, अर्मलाकोट, घार्मी र बगरलगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा विजय बरालसँगै सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश क्षेत्री र शारदा सिलवाललगायत कलाकारको अभिनय छ।
सजन काफ्ले र आकास बरालको कथा तथा पटकथा रहेको चलचित्रको निर्देशन पनि उनीहरूकै संयुक्त हो। सफल चलचित्र ‘बेहुली फ्रम मेघौली’पछि यो जोडीले दोस्रोपटक सहकार्य गरेको हो।
मोती कार्की कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन निशाल पौडेलले गरेका हुन्। चानस पुन मगर सम्पादक, राजेन्द्र मोक्तान रङ्ग संयोजक तथा अङ्कित बाबु अधिकारी संगीतकार छन्। पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन्।चलचित्रलाई काठमाडौं उपत्यकाबाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण गर्नेछ।



