१९ वटा हलबाट पूर्णबहादुरको सारंगी हटाईयो


ब्युटी न्युज नेपाल
काठमाडौं, १ मंसिर

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल व्यापार गरिरहेको भए पनि केही हलबाट यो चलचित्र उतारिएको छ । ती हलहरुले चलचित्र हाउसफुल हुँदा पनि आधा भन्दा कम व्यापार गरेपछि सम्बन्धित चलचित्र घरबाट हटाउनु परेको यसको निर्माण पक्षले जनाएको छ ।

मोफसलका चलचित्र घर भ्रमणका क्रममा निर्माण कम्पनी सेभेन सिस सिनेमालाई ग्रसकलेक्सनको ‘फेक रिपोर्ट’ दिएको दिएको देखेपछि मोफसलका १९ वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट प्रदर्शनमा नआउने गरी हटाईएको निर्माणपक्षले निर्णय गरेको छ ।

हाउसफूल अकुपेन्सीमा चलचित्र प्रदर्शन भए पनि हलहरुले निर्माणपक्षलाई निकै कम ग्रसकलेक्सनको रिपोर्ट उपलब्ध गराएको भन्दै निर्माण कम्पनीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अरुण हल बिराटनगर, निलम सिनेमाज जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिवास हल बर्दिवास, विराटचोक हल मोरङ, सी.वी हल इनरुवा, दीपक हल बरहथवा, हिमालय हल विराटनगर, चरिकोट हल दोलखा, एभरेष्ट हल राजगढ, धनकुटा हल धनकुा, फिदिम हल पाँचथर, त्रिशूली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रीमूर्ति हल र गिरिराज हल जनकपुरमा आज (शनिबार)देखि चलचित्र प्रदर्शन नहुने जनाएको छ ।

सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।