ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ भदौ
गत १० भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा हराएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ। बाढीका कारण क्षतिग्रस्त विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा संरचनामा फसेका हुनसक्ने व्यक्तिको खोजीका लागि नेपाली सेनासहितको संयुक्त टोली परिचालन गरिएको छ।
नेपाली सेनाका अनुसार भदौ १८ गते बिहान ११ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप ६ जनाको उद्धार गरिएको छ। स्थल तथा सुरुङमार्फत समेत खोजी कार्यलाई तीव्रता दिइएको सेनाले जनाएको छ।
लाङटाङ हाइड्रोमा विदेशी प्राविधिकसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली परिचालित छ। टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर भित्रको अवस्था पत्ता लगाउने प्रयास गरिरहेको छ।
त्यस्तै, चिलिमे हाइड्रोमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सुरुङभित्र खोज तथा उद्धार कार्य गरिरहेको छ।
त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोली परिचालित छ। टोलीले पाँचवटा एक्साभेटर प्रयोग गरी रातभर सुरुङको आउटलेटमा भरिएको लेदो र माटो हटाउने काम गरेको छ।
बुधबार राति करिब २ बजे आउटलेटको होल ठूलो बनाउन क्राउन क्षेत्रमा ब्लास्टिङ गरी सफा गर्ने कामसमेत गरिएको नेपाली सेनाले जनाएको छ। सुरुङको प्रवेश मार्ग खुलाउँदै उद्धार टोलीलाई भित्रसम्म पुग्ने वातावरण बनाउने प्रयास भइरहेको छ।
त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका ८९ जना, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोली परिचालित छ। टोलीले आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान गरी उक्त स्थानसम्म पुग्ने बाटो खोल्ने काम गरिरहेको छ। त्यसका लागि एक्साभेटर र बोबक्याट प्रयोग गरी माटो तथा भग्नावशेष पन्छाउने काम भइरहेको छ। बाढीका कारण सुरुङ तथा आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि खोजी कार्य जटिल बनेको भए पनि सम्भावित स्थानमा पुगेर उद्धार गर्ने प्रयास निरन्तर भइरहेको नेपाली सेनाले जनाएको छ।






