लाइफ टाइम एचिभमेन्ट ग्रहणसँगै मदनकृष्णले सुनाए शारीरिक पीडा 


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० साउन

शनिवार बेलुका काठमाडौँको एक होटेलमा आयोजना गरिएको तेस्रो संस्करणको इन्फा अवार्ड–२०२६ मा वरिष्ठ हास्यव्यँग्य अभिनेता एवम् गायक मदनकृष्ण श्रेष्ठलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरियो ।

सम्मान ग्रहणपछि कलाकार मदनकृष्णले आफूलाई मस्तिष्कले दिनदिनै काम गर्न असजिलो बनाएका तर आफूले जबरजस्ती काम गरिरहेको बताए । समारोहमा उनले आफ्ना चर्चित चार वटा गीतका अंश पनि सुनाए । गत महिना चलचित्र विकाश बोर्डले आफूलाई प्रदान गरेको लाइफ टाइम एचिभमेन्ट अवार्डको पनि उनले स्मरण गरे ।

विगत एक दशकदेखि पार्किन्सन्स समस्याबाट पीडित कलाकार मदनकृष्णले आजकाल आफूलाई बोल्न र हिँड्न निकै अप्ठेरो हुने गरेको बताए । कार्यक्रममा उनले भने,‘हिँड्दा हिँड्दै कसैले नमस्कार गर्‍यो भने नमस्कार त फर्काउँछु , तर त्यसपछि खुट्टाले हिँड्न बिर्सन्छ । यस्तै साँघुरो बाटो, घुम्ती, भर्‍याङ, ढोका आदिमा हिँड्ने क्रममा खुट्टाले काम गर्न छाडेका कारण एक जना साथी मलाईसँगै चाहिन थालेको छ ।’

आफूलाई स्वास्थ्यले साथ नदिए पनि अभिनय गर्न नछाड्ने प्रतिबद्धता उनले सो कार्यक्रममा बताए । गत वर्ष आफूले चलचित्र पराना, पहाडमा अभिनय गरेको स्मरण सुनाउँदै यस पटक पनि केही चलचित्रमा अभिनय गर्न लागेको उनले बताए । आफ्नो शरीर र दिमागले साथ दिएसम्म अभिनयलाई निरन्तर अघि बढाउने उनले सो सम्मान समारोहमा दर्शकसामु प्रतिबद्धता जनाए ।