प्रज्ज्वलको अध्यक्षतामा नेपाल चलचित्र संघको नयाँ कार्यसमितिले पायो पूर्णता


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ मंसिर

चलचित्र घर सञ्चालक तथा चलचित्र वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघको नयाँ कार्यसमितिले पूर्णता पाएको छ। संघको अध्यक्षमा प्रज्ज्वल शमशेर जबरा निर्वाचित भएपछि बाँकी पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ।

संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अध्यक्ष जबराको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको जिम्मेवारी निर्धारण गरेको हो । नयाँ कार्यसमितिमा मिजास पोखरेल उपाध्यक्ष, सुरेन्द्रकुमार थापा महासचिव, करण श्रेष्ठ उपमहासचिव र आशिष तामाङ कोषाध्यक्ष चयन भएका छन्। यसैगरी नरेन्द्र महर्जनलाई निवर्तमान अध्यक्षको जिम्मेवारी दिइएको छ।

संघको कार्यसमिति सदस्यमा चैतन्य बराल, गोविन्दबहादुर शाही, दुर्गालाल प्रधान, डा. सिंह गुरुङ, योगा मल्ल ठकुरी, विपश्यना श्रेष्ठ र सञ्जोग नारायण श्रेष्ठ रहेका छन्।

कार्यसमिति सदस्यहरूमध्ये चैतन्य बराललाई कोशी तथा मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ। गोविन्दबहादुर शाही वितरण समिति संयोजक र दुर्गालाल प्रधान प्रदर्शन समिति संयोजक चयन भएका छन्।

त्यस्तै, डा. सिंह गुरुङलाई गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको संयोजक र विपश्यना श्रेष्ठलाई बागमती प्रदेश संयोजकको जिम्मेवारी दिइएको छ ।

संघले सल्लाहकारमा पूर्वअध्यक्षहरू राजकुमार पोखरेल, नखिम उदिन र प्रदीपकुमार उदय तथा पूर्वउपाध्यक्ष गोपालकाजी कायस्थलाई चयन गरेको छ।

यसअघि शनिबार सम्पन्न संघको अधिवेशनबाट प्रज्ज्वल शमशेर जबरा अध्यक्षमा निर्वाचित भएका थिए। अधिवेशनबाट बाँकी ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका थिए। सोही कार्यसमितिबाट पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरिएको हो । चलचित्र प्रदर्शक तथा वितरकहरूको हकहित, चलचित्र क्षेत्रको व्यावसायिक विकास र नेपाली चलचित्रको बजार विस्तारका लागि नेपाल चलचित्र संघले काम गर्दै आएको छ।