फिल्म ‘रामायण’माथि विश्व हिन्दू परिषद्को आपत्ति, सेन्सर प्रमाणपत्र रद्द गर्न माग


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ मंसिर

भारतीय हिन्दूवादी संगठन विश्व हिन्दू परिषद् (भीएचपी) ले चलचित्र ‘रामायण’को कथावस्तुप्रति आपत्ति जनाउँदै यसको प्रदर्शन रोक्न माग गरेको छ। महर्षि वाल्मीकिद्वारा रचित मूल रामायणको कथालाई तोडमोड गरी रावणको महिमामण्डन गरिएको आरोप लगाउँदै परिषद्ले चलचित्रको सेन्सर प्रमाणपत्र रद्द गर्न माग गरेको हो।

परिषद्ले जारी गरेको विज्ञप्तिमा चलचित्रमा मूल रामायणका ऐतिहासिक तथा पौराणिक प्रसंगलाई बंग्याएर काल्पनिक विषयवस्तु समावेश गरिएको उल्लेख छ। यसले विश्वभरका एक अर्बभन्दा बढी रामभक्तको धार्मिक आस्थामा गम्भीर चोट पुर्‍याएको परिषद्को दाबी छ।

विश्व हिन्दू परिषद्का केन्द्रीय महामन्त्री बजरंग बागडाले चलचित्रका निर्माताहरूले अनावश्यक राजनीतिक दृष्टिकोण स्थापित गर्ने उद्देश्यले मूल रामायणको कथालाई परिवर्तन गरेको आरोप लगाएका छन्।

परिषद्ले विशेषगरी चलचित्रमा रावणको चरित्र प्रस्तुत गरिएको शैलीप्रति असन्तुष्टि जनाएको छ। उसका अनुसार ज्ञान र सामर्थ्य भए पनि अहंकारका कारण सृष्टि तथा ऋषिमुनिका यज्ञ र साधनामा बाधा पुर्‍याउने रावणलाई चलचित्रमा सुरुदेखि नै दलित, शोषित तथा पीडित वर्गको उद्धारकका रूपमा चित्रण गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘रावणलाई शोषितहरूको मुक्तिदाताका रूपमा प्रस्तुत गरेर महिमामण्डन गर्न खोजिएको छ।’

त्यस्तै, परिषद्ले भगवान् रामको उदार र समावेशी व्यक्तित्व झल्काउने महत्वपूर्ण प्रसंगहरू चलचित्रबाट हटाइएको आरोप पनि लगाएको छ। माता अहिल्याको उद्धार, निषादराज गुहसँगको समानतामा आधारित मित्रता तथा केवटको भक्तिजस्ता प्रसंगलाई चलचित्रमा समावेश नगरिएको भन्दै उसले आपत्ति जनाएको छ।

परिषद्को भनाइमा यी प्रसंगहरूले भगवान् रामको चरित्र, सामाजिक सद्भाव र समानताको सन्देशलाई उजागर गर्छन्। तर, यस्ता महत्वपूर्ण घटनालाई हटाएर रावणको चरित्रलाई प्राथमिकता दिइनु मूल रामायणको भावनाविपरीत रहेको उसको दाबी छ।

यिनै विषयलाई आधार बनाउँदै विश्व हिन्दू परिषद्ले चलचित्रको सेन्सर प्रमाणपत्र तत्काल रद्द गर्न तथा यसको प्रदर्शनमा प्रतिबन्ध लगाउन सम्बन्धित निकायसँग माग गरेको छ।