ब्युटी न्युज नेपाल
काठमाडौँ, २ मंसिर
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा मलेसिया पठाउने निर्णय गरेको आरोपमा दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्चपदस्थ सरकारी अधिकारी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्।
त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिवद्वय उमेश ढुङ्गाना र राजिव पोखरेल तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरिएको थियो। यसरी असुलिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ दशमलव ९२ अमेरिकी डलर र ३७ लाख १५ हजार ९८० दशमलव ८० बेलायती पाउन्ड गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय भएको आरोप पक्राउ परेका अधिकारीहरूमाथि लगाइएको छ।
उक्त निर्णयबाट नेपालको अर्थतन्त्रमा ठूलो आर्थिक क्षति पुगेको सीआईबीको दाबी छ। वैदेशिक रोजगारीका नाममा श्रमिकमाथि आर्थिक शोषण गरिएको र त्यसमा राज्यका उच्च तहमा रहेका अधिकारीहरूको संलग्नता रहेको आशंकामा अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ। सीआईबीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यस प्रकरणमा श्रमिकबाट असुलिएको रकम, त्यसको व्यवस्थापन तथा विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न अन्य व्यक्ति र निकायको भूमिकाबारे समेत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ।









