ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ कात्तिक
हरि लम्सालको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ। गत असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा ५१औँ दिन मनाएको हो।
बक्सअफिसमा औसत व्यापार गरे पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको चलचित्रले प्रदर्शनको लामो यात्रा तय गर्न सफल भएको छ। यसबीच प्रदर्शनमा आएका कतिपय चलचित्र हलबाट बाहिरिसक्दा पनि ‘बाः एक योद्धा’ भने केही हलमा अझै प्रदर्शन भइरहेको छ।
उपलब्ध बक्सअफिस रिपोर्टअनुसार चलचित्रले हालसम्म ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रस व्यापार गरेको छ। डेब्यू निर्देशनमै चलचित्रलाई ५१औँ दिनसम्म प्रदर्शनमा राख्न सफल भएपछि निर्देशक लम्सालका लागि यो उपलब्धि बनेको छ।
पारिवारिक भावना, बुवाको त्याग र संघर्षलाई मुख्य विषय बनाइएको चलचित्रमा सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतका कलाकारको अभिनय रहेको छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा, पटकथा, लेखन तथा निर्देशन हरि लम्सालकै रहेको छ। चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्।








