ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ कात्तिक
रिलिज भएको २४ घण्टा नबित्दै चलचित्र ‘बाटुलो जून’का लामा–लामा क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि अहिले यो चलचित्रका निर्मातालाई तनाव भएको छ। विशेषगरी विदेशमा यो चलचित्रको प्रदर्शन अधिकार किनेका वितरकहरूले यस्तो अवस्थामा आफूहरूले चलचित्र ‘बाटुलो जून’ लिन नसक्ने भन्दै फोन गरेपछि निर्माण पक्ष तनावमा पुगेको हो। अमेरिकाका वितरकले सामाजिक सञ्जालमा ‘बाटुलो जून’का दृश्य भाइरल भएको भन्दै आपत्ति जनाएपछि यो चलचित्रकी निर्मात्रीले साइबर ब्युरो गुहारेकी छन्। निर्मात्री जिया केसीले फेसबुक र टिकटकमा भिडियो राखिएको भन्दै ब्युरोमा उजुरी दिएकी हुन्।
भुवन केसीको निर्देशनमा तयार भएको अनमोल केसी अभिनीत चलचित्र ‘बाटुलो जून’ बिहीबारदेखि नेपालमा प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिन यो चलचित्रले राम्रो व्यापार गरेको छ। चलचित्रले एकै दिनमा एक करोड रुपैयाँभन्दा माथिको व्यापार गरेपछि निर्माताहरू निकै खुसी भएका थिए। तर, पहिलो दिनको साँझ नहुँदै चलचित्र ‘बाटुलो जून’का महत्त्वपूर्ण दृश्य फेसबुक तथा टिकटकजस्ता सामाजिक सञ्जालमा भाइरल हुन थाले। एकपछि अर्को गर्दै चलचित्रका दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि यस चलचित्रकी निर्मात्री जिया केसी शुक्रबार साइबर ब्युरो पुगेकी छन्। जियाले शुक्रबार साइबर ब्युरोमा चलचित्रका दृश्य सामाजिक सञ्जालमा राख्ने दुई दर्जनभन्दा बढी व्यक्ति तथा फेसबुक एवं टिकटकका खाताविरुद्ध उजुरी दर्ता गराएकी छन्।
उनले शुक्रबार साइबर ब्युरोमा दर्ता गरेको उजुरीमा भनिएको छ, ‘बाटुलो जूनका भिडियो क्लिपहरू गैरकानुनी रूपमा विभिन्न सामाजिक सञ्जाल जस्तै फेसबुक, टिकटक, युट्युब लगायतमा पाइरेसी गरी, अनधिकृत रूपमा प्रचारप्रसार गरी सर्जकको प्रतिलिपि अधिकार हननका साथै आर्थिक क्षतिसमेत पु¥याएकाले आवश्यक अनुसन्धान गरी कारबाही गरिपाऊँ।’
चलचित्र ‘बाटुलो जून’को निर्माण कम्पनी सनराइज पिक्चर्सले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्रका दृश्य हलभित्रबाट रेकर्ड गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अनुमति नलिई चलचित्रका दृश्य रेकर्ड गर्नु तथा सार्वजनिक गर्नु प्रतिलिपि अधिकारको उल्लङ्घन भएको कम्पनीको भनाइ छ। यस्तो गतिविधिले चलचित्रको मौलिकता र सिर्जनामाथि प्रहार गर्नुका साथै यसको व्यावसायिक प्रदर्शनमा समेत प्रत्यक्ष असर पार्ने निर्माण पक्षले उल्लेख गरेको छ। कम्पनीले अनधिकृत रूपमा रेकर्ड, अपलोड तथा सेयर गरिएका चलचित्रका दृश्य तत्काल हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
त्यस्तै, निर्मात्री जिया केसीले यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा संस्थाविरुद्ध प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिएकी छन्। जियाका अनुसार शुक्रबार नै सम्बन्धित प्रयोगकर्ताहरूको प्रमाणसहित साइबर ब्युरोमा उजुरी दर्ता गराइसकिएकाले उनीहरूविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढ्नेछ।
निर्माण पक्षले चलचित्रको मौलिकता, कलाकार तथा प्राविधिकको श्रम र सिर्जनाको सम्मान गर्न दर्शकसँग आग्रह गरेको छ। चलचित्रका दृश्य सामाजिक सञ्जालमा हेर्नुभन्दा हलमै पुगेर चलचित्र हेरी सहयोग गरिदिन पनि कम्पनीले अनुरोध गरेको छ।

अमेरिकाबाट यो चलचित्रका वितरकले सामाजिक सञ्जालमा चलचित्र भाइरल भएको जानकारी दिँदै निर्माण पक्षसँग कानुनी कारबाहीको माग गरेपछि शुक्रबार निर्मात्री जिया केसी साइबर ब्युरो पुगेकी हुन्। यसै विषयमा ‘जो जससँग सम्बन्धित छ’ भन्दै सुरेश दर्पणले सामाजिक सञ्जालमा यस्तो लेखेका थिए,
‘नेपालमा फिल्म रिलिज भएको एक दिन मात्रै भएको छ। विदेशमा रिलिज हुन त अझै बाँकी नै छ, तर विडम्बना! टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा यतिबेला फिल्म छ्यापछ्याप्ती छ।
लाइक र भ्युजको खेतीका लागि फिल्म क्षेत्रमाथि भइरहेको यो बौद्धिक डकैती आखिर कहिलेसम्म चलिरहने? फिल्म निर्माणमा करोडौँको लगानी, कलाकार तथा प्राविधिकको महिनौँको मेहनत र निर्माताको सपना जोडिएको हुन्छ। तर केही व्यक्तिका लागि त्यो सबै सामग्री सामाजिक सञ्जालमा भ्युज र लाइक कमाउने माध्यम मात्रै बनेको छ। सम्बन्धित निकायहरू के हेरेर बसेका छन्? जिम्मेवार पक्षले आफ्नो जिम्मेवारी पूरा गर्न अझै कति समय कुर्ने? यस्ता पाइरेसी गर्नेहरूलाई कानुनी दायरामा ल्याउने र यो प्रवृत्तिलाई रोक्ने पहल कसले गर्ने?’
यसरी अमेरिकाबाट सुरेश दर्पणले समेत निर्माताको ध्यानाकर्षण गराएपछि निर्मात्री जिया केसी साइबर ब्युरो पुगेकी हुन्। अनमोल केसी र प्रिन्सी खतीवडाको मुख्य भूमिका रहेको चलचित्र ‘बाटुलो जून’ कात्तिक २६ गते बिहीबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ। चलचित्र प्रदर्शनमा आएसँगै हलभित्रबाट दृश्य रेकर्ड गरी सार्वजनिक गर्ने प्रवृत्तिविरुद्ध निर्माण पक्षले कानुनी कदम चालेको हो। साथै, सनराइज पिक्चर्सले समेत एक विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा अपलोड गरिएका भिडियो क्लिप तत्काल हटाउन आग्रह गरेको छ। तर शुक्रबार साँझसम्म पनि सामाजिक सञ्जालमा राखिएका ‘बाटुलो जून’का दृश्य हटाइएको छैन।
अनमोल केसीको ११औँ चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको पहिलो र दोस्रो दिन नेपालमा आक्रामक व्यापार गरेको छ। यो चलचित्रले पहिलो दिन नेपालमा एक करोड २५ लाख रुपैयाँभन्दा माथिको व्यापार गरेको निर्माण पक्षको दाबी छ।








