ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ कात्तिक
यस वर्षको दसैँमा प्रदर्शनमा आएका चार नेपाली चलचित्रमध्ये ‘कबड्डी ५’ले बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ । प्रदर्शनको तीन साताभन्दा बढी समय बितिसक्दा चलचित्रले घरेलु बक्स अफिसमा १२ करोड ३९ लाख रुपैयाँभन्दा बढी ग्रस व्यापार गर्दै दसैँ रिलिजमध्ये पहिलो स्थान सुरक्षित गरेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार कात्तिक २२ गतेसम्म ‘कबड्डी ५’ले १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा चलचित्रका ४ लाख ५ हजार ८८४ वटा टिकट बिक्री भएका छन् । कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले अन्य दसैँ रिलिजलाई व्यापारमा निकै पछाडि पारेको छ ।
दसैँका चलचित्रमध्ये दोस्रो स्थानमा ‘आ बाट आमा २’ रहेको छ । असोज ३० गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले कात्तिक २२ गतेसम्म ६ करोड ८१ लाख ७ हजार ४१३ रुपैयाँ ग्रस व्यापार गरेको छ । चलचित्रका २ लाख ३७ हजार ३०७ वटा टिकट बिक्री भएका छन् ।

दीपकराज गिरी समूहको चलचित्र ‘छ माया छपक्कै २’ भने ३ करोड ४२ लाख २५ हजार ९४५ रुपैयाँ ग्रस कमाइसहित तेस्रो स्थानमा छ । चलचित्रका १ लाख ६ हजार ६४४ वटा टिकट बिक्री भएका छन् । पहिलो भागले १० करोड रुपैयाँभन्दा बढी व्यापार गरेको अवस्थामा दोस्रो भागको कमजोर प्रदर्शनलाई निर्माण समूहका लागि ठूलो व्यावसायिक धक्का मानिएको छ ।
त्यस्तै, दसैँमा प्रदर्शनमा आएको ‘१२ गाउँ २’ले २ करोड ३१ लाख ४० हजार ६७१ रुपैयाँ ग्रस कमाइ गरेको छ । चलचित्रका ७५ हजार ५४० वटा टिकट बिक्री भएका छन् । पहिलो भागले घरेलु बक्स अफिसमा झन्डै २० करोड रुपैयाँ व्यापार गरेको तुलनामा दोस्रो भागको कमाइ निकै कमजोर देखिएको छ ।
यसैबीच, चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार ‘गौँथली’ले २६ करोड २७ लाख ४९ हजार ७३६ रुपैयाँ ग्रस व्यापार गरेको छ । त्यस्तै, ‘पेन्सन पट्टा’ले १० करोड ३३ लाख ७४ हजार ८७८ रुपैयाँ र ‘बा : एक योद्धा’ले ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रस कमाइ गरेका छन् ।
उल्लेखित चलचित्रमध्ये ‘गौँथली’ नेपाली चलचित्र इतिहासकै दोस्रो तथा यस वर्षको सर्वाधिक कमाइ गर्ने चलचित्रका रूपमा रहेको छ । समग्र बक्स अफिस नतिजाले यस वर्ष नेपाली चलचित्रको व्यापारमा केही चलचित्रले उल्लेख्य सफलता हासिल गर्दा केही अपेक्षित प्रदर्शन गर्न नसकेको देखाएको छ ।








