भीमफेदीमा भयावह ईभी दुर्घटना : मृतकको संख्या १४ पुग्यो


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ कात्तिक

मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको भयावह ईभी भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ। सडकबाट करिब ७०० मिटर तल खसेको भ्यानमा सवार यात्रुमध्ये १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी भ्यान बिहान करिब ६ः१० बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटनामा परेको थियो। दुर्घटनापछि घटनास्थलमा तत्कालै उद्धार कार्य सुरु गरिएको थियो। प्रारम्भिक खोजीका क्रममा ११ जनाको शव फेला परेकोमा थप खोजी गर्ने क्रममा अन्य तीन जनाको शव भेटिएपछि मृतकको संख्या १४ पुगेको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

उनका अनुसार दुर्घटनाका बेला भ्यानमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौँडा अस्पताल पुर्‍याइएको छ भने थप तीन जनाको शव दुर्घटनास्थलबाट फेला परेको हो। पछिल्लो पटक भेटिएका तीन जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन्।

त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ। उनी दुर्घटनामा परेको भ्यानका चालक रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जना सामान्य उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन्।

अन्य तीन घाइतेलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ। रिफर हुनेमा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव रहेका छन्। उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

एकै दुर्घटनामा ठूलो संख्यामा मानवीय क्षति भएपछि घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ। दुर्घटनाको थप विवरण तथा घटनाको कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ।