ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ कात्तिक
गीतकार तारा अधिकारी अब चलचित्र निर्देशनमा पनि सक्रिय भएकी छन् । लघु चलचित्र निर्देशनको अनुभवपछि उनले आफ्नो लेखन, निर्माण तथा निर्देशनमा तयार पारेको नयाँ नेपाली चलचित्र ‘तिलस्मी’को पहिलो झलक सार्वजनिक गरेकी छन् । निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा पोस्टर सार्वजनिक गर्दै दर्शकमाझ यसको फस्ट लुक प्रस्तुत गरेको हो ।
सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक पोस्टरमा तीन प्रमुख कलाकार जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्कालाई प्रस्तुत गरिएको छ । तीनै कलाकारलाई एकअर्कासँग जोडिएको फरक शैलीमा देखाइएको पोस्टरले चलचित्रको कथावस्तु र पात्रको सम्बन्धबारे दर्शकमाझ कौतूहल सिर्जना गरेको छ ।
आगामी पुस २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं, महेश खड्का, आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ ।
गीतकारसमेत रहेकी तारा अधिकारीको यो पहिलो पूर्ण लम्बाइको चलचित्र निर्देशन हो । चलचित्रको कथा, निर्माण तथा निर्देशन उनैले गरेकी हुन् । यसको पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन् ।
चलचित्रमा सुमन केसी र किरण कँडेलको संगीत, बिनोद बलको छायांकन, मनिष डीके र सुवास राईको प्रोडक्सन व्यवस्थापन रहेको छ । त्यस्तै, पार्किष गिरी र अमित श्रेष्ठले पृष्ठभूमि संगीत तयार पारेका छन् भने नहकुल खड्काले सम्पादन गरेका छन् ।
पारिवारिक कथावस्तुमा आधारित भनिएको ‘तिलस्मी’मा राजीव समरको कोरियोग्राफी र राजेन्द्र मोक्क्तानको रङ संयोजन रहेको छ । चलचित्रको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्ने भएका छन् ।








