आईजीपीबाट हटाइएका दानबहादुरको रिट दर्ता भएन, तिहारपछि सुनुवाइ हुने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबीसहित दानबहादुर कार्कीले सरकारविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा बिहीबार दर्ता हुन सकेन। सर्वोच्च अदालतका कर्मचारीले निवेदन अध्ययनकै क्रममा रहेको जनाएपछि तत्काल दर्ता प्रक्रिया अघि बढ्न नसकेको हो। शुक्रबार निवेदन दर्ता भए पनि तिहार बिदाका कारण प्रारम्भिक सुनुवाइका लागि तिहारपछि मात्रै पालो आउने देखिएको छ।

कार्कीका कानुन व्यवसायीलाई सर्वोच्च अदालतका कर्मचारीले निवेदन अध्ययनका क्रममा रहेकाले बिहीबार दर्ता हुन नसकेको जानकारी दिएका थिए। सामान्यतया रिट निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइका लागि पेसी तोक्ने चलन छ। तर शुक्रबार दर्ता भएलगत्तै तिहार बिदा सुरु हुने भएकाले मुद्दाको प्रारम्भिक सुनुवाइ तत्काल सम्भव नहुने भएको हो।

यसैबीच सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरेको छ। उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय भए पनि कार्कीले त्यससम्बन्धी नियुक्तिपत्र बुझेका छैनन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार कार्कीलाई सिंहदरबारस्थित कार्यालयको कोठा नम्बर २०७ मा कार्यकक्ष उपलब्ध गराउने तयारी गरिएको थियो। साथै उनलाई सचिवसरहको सुविधा दिने योजना पनि बनाइएको थियो।

तर सरकारले प्रस्ताव गरेको नयाँ जिम्मेवारी स्वीकार गर्दै नियुक्तिपत्र बुझ्न सिंहदरबार जानुको सट्टा कार्की बिहीबार आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्न सर्वोच्च अदालत पुगेका हुन्।

सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च पुगेका कार्कीको रिट दर्ता भएपछि मात्रै मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्नेछ। अब उनको मुद्दा तिहारपछि मात्रै अदालतको प्रारम्भिक सुनुवाइमा प्रवेश गर्ने सम्भावना छ।