गृहमन्त्री गुरुङद्धारा डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक

सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै डा. मनोज केसीलाई ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) केसीलाई बढुवा गरी प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।

सरकारको निर्णयसँगै यसअघि प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रहेका दानबहादुर कार्की पदमुक्त भएका छन्। उनलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएको छ। कार्कीको कार्यकाल २०८४ चैत २७ गतेसम्म रहेकाले पदावधि बाँकी छँदै सरकारले प्रहरी नेतृत्व परिवर्तन गरेको हो।

नवनियुक्त आईजीपी डा. केसीलाई गृहमन्त्री सुदन गुरुङले बुधबार दर्ज्यानी चिह्न प्रदान गर्दै प्रहरी महानिरीक्षकको जिम्मेवारी हस्तान्तरण गरेका छन्। दर्ज्यानी चिह्न ग्रहण गरेसँगै केसीले बुधबारदेखि नै प्रहरी संगठनको नेतृत्व सम्हालेका छन्।

यसअघि आईजीपी नियुक्तिको वरीयताक्रममा कार्की पहिलो नम्बरमा थिए भने राजन अधिकारी दोस्रो र केसी तेस्रो नम्बरमा थिए। तर सरकारले वरीयतामा तेस्रो नम्बरमा रहेका केसीलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो। कार्की भने आफूलाई पदबाट हटाइएको विषयमा कानुनी उपचार खोज्ने परामर्शमा रहेको बताइएको छ।

यसअघि पनि हटाइएका थिए आईजीपी

नेपाल प्रहरीमा कार्यकाल बाँकी रहँदै प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएर अर्को व्यक्तिलाई नियुक्त गरिएको यो पहिलो घटना भने होइन।

२०५३ सालमा सरकारले तत्कालीन आईजीपी अच्युतकृष्ण खरेललाई पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो। सरकारले खरेलको स्थानमा ध्रुवबहादुर प्रधानलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। आफूलाई दरबन्दी नै नभएको ठाउँमा सरुवा गरिएको भन्दै खरेल सर्वोच्च अदालत पुगेका थिए।

अदालतबाट मुद्दा जितेपछि खरेल पुनः प्रहरी महानिरीक्षकमा फर्किएका थिए। त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। प्रधानले उक्त जिम्मेवारीमा रहेर काम गरेका थिए।

त्यस्तै, सुडान घोटाला प्रकरणमा मुछिएपछि तत्कालीन आईजीपी रमेशचन्द ठकुरीलाई पनि प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएको थियो। उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई प्रहरी महानिरीक्षक बनाइएको थियो।

यसरी विगतमा पनि प्रहरी नेतृत्व परिवर्तनका क्रममा आईजीपीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएका उदाहरण छन्।

कार्की र केसी एउटै ब्याचका प्रहरी अधिकृत

नवनियुक्त आईजीपी डा. केसी र पदमुक्त भएका कार्की एउटै ब्याचका प्रहरी अधिकृत हुन्। दुवै जना २०५४ चैत २८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भएका थिए।

केसी २०६६ मंसिर २६ गते प्रहरी नायब उपरीक्षक (डीएसपी), २०७४ साउन १९ गते प्रहरी उपरीक्षक (एसपी), २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २०८१ जेठ १३ गते प्रहरी नायब महानिरीक्षक (डीआईजी) र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए।

एआईजीमा बढुवा हुँदा उनी वरीयताक्रममा तेस्रो नम्बरमा थिए। पहिलो नम्बरमा दानबहादुर कार्की र दोस्रो नम्बरमा राजन अधिकारी थिए। सरकारले दुवैलाई पछि पार्दै केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानले बनाएको चर्चा

डा. केसी प्रहरीको अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरिएको उक्त प्रकरणको अनुसन्धानमा उनको नेतृत्वले चर्चा पाएको थियो।

रोचक पक्ष के छ भने उक्त प्रकरणको अनुसन्धानको सुरुआती नेतृत्व केसीले गरेका थिए भने मुद्दाको अभियोजन प्रक्रियासँग सम्बन्धित प्रहरी जिम्मेवारीमा त्यसबेला अहिले पदमुक्त भएका दानबहादुर कार्कीको भूमिका रहेको थियो।

अनुसन्धान र संगठन निर्माणमा अनुभव

डा. केसीसँग प्रहरीका विभिन्न महत्त्वपूर्ण निकायमा काम गरेको अनुभव छ। उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देहीलगायत विभिन्न निकाय तथा जिल्लाको नेतृत्व गरिसकेका छन्।

सीआईबीमा रहँदा उनले पर्यटकीय क्षेत्रमा हुने नक्कली हवाई उद्धार (फेक रेस्क्यु) ठगी, स्मार्ट टेलिकमसँग सम्बन्धित ठगी, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सीसम्बन्धी अपराध र सरकारी जग्गा अतिक्रमण तथा हिनामिनाजस्ता विषयको अनुसन्धानमा नेतृत्व गरेका थिए।

त्यस्तै, उनले प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभाग, विशेष ब्युरो, प्रहरी एकेडेमी तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा समेत काम गरेका छन्।

नेपाल प्रहरीमा पहिलोपटक सञ्चालन गरिएको स्टाफ कलेजका संस्थापक निर्देशकसमेत रहेका केसीले प्रहरी एकेडेमीमा रहँदा प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा योगदान गरेका थिए।

द्वन्द्व रूपान्तरणमा विद्यावारिधि

डा. केसीले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। सोही विश्वविद्यालयबाट व्यवहारिक द्वन्द्व रूपान्तरण अध्ययनमा स्नातकोत्तर गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर तथा जनप्रशासनमा पनि स्नातकोत्तर गरेका छन्।

उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा सुरक्षा अधिकृतका रूपमा काम गरिसकेका छन्। फ्रान्सेली र स्पेनी भाषामा समेत दख्खल राख्ने केसीले ‘इन्हान्सिङ पुलिसिङ नेपाल’ र ‘आइडेन्टिफाइङ इफेक्टिभ मेजर्स टु कम्ब्याट अर्गनाइज्ड क्राइम इन पोस्ट कन्फ्लिक्ट काठमाडौं’ नामक दुई पुस्तकसमेत लेखेका छन्।

अनुसन्धान, संगठनात्मक नेतृत्व, शैक्षिक योग्यता तथा अन्तर्राष्ट्रिय मिसनको अनुभव भएका डा. केसीको नियुक्तिसँगै नेपाल प्रहरीको आगामी नेतृत्व र कार्यशैलीप्रति चासो बढेको छ। अब उनको नेतृत्वमा प्रहरी संगठनले अपराध अनुसन्धान, सुशासन, संगठनात्मक सुधार र जनविश्वास अभिवृद्धिमा कस्तो भूमिका निर्वाह गर्छ भन्ने विषय महत्त्वपूर्ण हुनेछ।