ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ कात्तिक
महाभारतका पाँच पाण्डवको विम्बमार्फत समकालीन नेपाली समाजका विकृति, विसंगति र अन्यायविरुद्धको आवाज उठाएको चलचित्र ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले मंगलबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा अभिनेता हरिवंश आचार्य केन्द्रमा छन्। युधिष्ठिरको भूमिकामा देखिएका उनी आफ्ना भाइहरूलाई खोज्दै पृथ्वीलोक आइपुगेको र विभिन्न समस्यामा परेका उनीहरूलाई उद्धार गर्दै अन्याय तथा विकृतिविरुद्ध उभिएको देखिन्छ।
ट्रेलरमा हरिवंशले विभिन्न पात्रलाई भीम, अर्जुन, सहदेवका रूपमा चिनाउँदै पाँच भाइको समूह तयार पारेका छन्। समाजमा व्याप्त अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइले गर्ने संघर्ष तथा विद्रोहलाई ट्रेलरमा प्राथमिकता दिइएको छ।
समाजमा देखिएका विकृति र असभ्य व्यवहारलाई समेत ट्रेलरले व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ। क्यासिनोमा छोटा कपडा लगाएकी युवती देखेपछि हरिवंशले उनको शरीर ढाकिदिएको दृश्यले सभ्य समाज निर्माणप्रतिको उनको सोचलाई संकेत गर्छ। समस्यामा परेकाहरूलाई सहयोग गर्ने र अन्यायविरुद्ध आवाज उठाउने पात्रका रूपमा उनलाई प्रस्तुत गरिएको छ।

चलचित्रका लेखक सुशील पौडेलले ‘पाँच पाण्डव’ सामाजिक कथावस्तुमा आधारित चलचित्र भएको बताएका छन्। महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गरेर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्न खोजिएको उनको भनाइ छ।
वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन्। त्यस्तै, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लगायत कलाकारको पनि अभिनय रहेको छ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन्। नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए। चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्।
श्याम तामाङको छायांकन रहेको चलचित्रलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको चलचित्रमा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ। डल्बी एटमस साउन्ड प्रविधिमा तयार गरिएको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले चलचित्रलाई देशव्यापी वितरण गर्दैछन्। चलचित्र यही कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।








