ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ कात्तिक
अभिनेता जितु नेपाल आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘पाँच पाण्डव’मा भीमसेनको चरित्रमा देखिने भएका छन्। चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै उनको भीमसेन अवतार र चरित्रलाई लिएर दर्शकमाझ चासो बढेको छ।
ट्रेलरमा अभिनेता हरिवंश आचार्यले जितुलाई ‘भीम’ भनेर सम्बोधन गर्दा उनले ‘म त भीमसेन हो’ भन्ने जवाफ दिएको दृश्य समावेश छ। महाभारतका पाँच पाण्डवमध्ये सबैभन्दा बलिया भीमको चरित्रमा जितु देखिएपछि उनको भूमिकाबारे विभिन्न जिज्ञासा पनि उठेका छन्।

तर जितु आफू चलचित्रमा महाभारतको वास्तविक भीमसेन नभई पाण्डवको एउटा काल्पनिक अंशका रूपमा प्रस्तुत भएको बताउँछन्। उनका अनुसार चलचित्रको कथामा स्वर्गमा रहेका युधिष्ठिर आफ्ना चार भाइबिना दुःखी हुन्छन्। ५१ सय वर्षपछि पनि भाइहरू कुनै न कुनै रूपमा जन्मिएका होलान् भन्ने कल्पनासहित उनीहरूको खोजीमा नेपाल आउँछन्। त्यसक्रममा विभिन्न पात्रलाई भेटेर युधिष्ठिरले नै उनीहरूलाई भीम, अर्जुन र नकुलका रूपमा चिनाउँछन्।
‘मैले आफैँ भीम हुँ भनेको होइन। युधिष्ठिरले नै तँ भीम होस् भनेर चिनाउनुहुन्छ। कसैले भीम सानो हुनुभयो पनि भने। तर भीम सानै हुन नपाउने भन्ने त होइन नि’, जितुले भने।

चलचित्रमा आफू इँटाभट्टामा काम गर्ने मजदुरको भूमिकामा रहेको बताउँदै जितुले चरित्र निर्माणमा निर्देशकको निर्देशन र कथाको मागलाई प्राथमिकता दिएको खुलाए। ‘म पूर्ण रूपमा भीम होइन। हामी पाण्डवको एउटा अंश मात्रै हौँ। त्यसैले चरित्रलाई लिएर धेरै तयारी गर्नुभन्दा कथाले मागेअनुसार अभिनय गरेको छु’, उनले भने।
महाभारत र पाण्डवजस्तो पौराणिक कथासँग जोडिएको चलचित्रमा काम गर्न पाउँदा आफू खुसी भएको पनि जितुले बताए। यद्यपि, यस चलचित्रमा उनका लागि केही अनुभव नौला र चुनौतीपूर्ण रहे।
चलचित्रमा अभिनेत्री दीपाश्री निरौला उनकी श्रीमतीको भूमिकामा छिन्। यसअघि विज्ञापनमा सँगै काम गरे पनि श्रीमान्–श्रीमतीको भूमिकामा प्रस्तुत हुनुलाई उनले फरक अनुभवका रूपमा लिएका छन्। त्यस्तै, अभिनेता हरिवंश आचार्यसँग पहिलोपटक पर्दा बाँड्न पाउनु पनि उनका लागि विशेष अनुभव बनेको छ।
‘हरिवंश आचार्यसँग पहिलोपटक स्क्रिन सेयर गरेँ। युधिष्ठिरले भीमलाई सम्झाउने दृश्य मेरा लागि फरक अनुभव थियो। पाँच पाण्डवसहित धेरै कलाकार रहेको ठूलो क्यानभासको चलचित्रमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने चुनौती पनि थियो’, जितुले सुनाए।

जितु नेपाललाई दर्शकले प्रायः हास्य भूमिकामा हेर्न रुचाउँछन्। यस चलचित्रमा पनि दर्शकको त्यो अपेक्षा केही हदसम्म पूरा हुने उनको भनाइ छ। तर ‘पाँच पाण्डव’ एउटै पात्रको कथा नभई पाँच दाजुभाइको कथामा आधारित भएकाले प्रत्येक कलाकारका आ–आफ्नै भूमिका र कथावस्तु रहेको उनले स्पष्ट पारे।
निर्देशक वसन्त निरौलासँग यसअघि चलचित्र ‘ज्वाइँ साब’मा काम गरिसकेका जितुको लेखक सुशील पौडेल र निर्माता नवीन श्रेष्ठसँग पनि पुरानै चिनजान थियो। आपसी भेटघाट र छलफलका क्रममा चलचित्रमा जोडिने सहमति भएको उनले बताए।

वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’मा जितु नेपालसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, दीपाश्री निरौला, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्र कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।








