मिसेस नेपाल वर्ल्ड २०२६’ सम्पन्न, बिनिता गुरुङ बनिन् विजेता


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौ , १४ कात्तिक

रिबन इन्टरटेनमेन्टद्वारा आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ प्रतियोगिताको छैटौँ संस्करण आज कात्तिक १४ गते शनिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ।जसमा प्रतियोगी नम्बर १६ की बिनिता गुरुङले ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि जित्न सफल भएकी छन्।

मिसेस नेपाल वल्र्ड २०२६ बिजेता बिनितालाई मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), लोकप्रिय अभिनेता राजेश हमाल, अभिनेत्री एवम् निर्देशक रेखा थापा, मिसेस नेपाल वल्र्ड २०२५ रक्षा पन्तलगायत आयोजक टिमले क्राउन तथा स्यासे प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रतियोगी नम्बर ११ की शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल’ को उपाधि जितिन् भने प्रतियोगी नम्बर २० की क्रिस्टिना ज्ञवाली ‘मिसेस नेपाल कस्मो’ घोषित भइन्। त्यस्तै, प्रतियोगी नम्बर ४ की रिचा शर्माले ‘एमएस नेपाल इन्टरनेसनल’ को उपाधि हात पारिन्।

मिसेस नेपाल वल्र्डकी बिजेता बिनिताले आगामी मिसेस वल्र्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । यस्तै मिसेस नेपाल इन्टरनेसनल शिल्पा न्यौपाने महर्जनले ‘मिसेस इन्टरनेशलनको, ‘मिसेस नेपाल कस्मो क्रिस्टिना ज्ञवालीले मिसेस कस्मको प्रतिनिधित्व नेपालबाट गर्नेछन् ।

एकल महिला तथा एक आमाहरुले यो प्रतियोगितामा एमएस नेपाल इन्टरनेशनलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा एमएस नेपाल इन्टरनेसनलकी बिजेता रिचा शर्माले एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने छिन् ।

प्रतियोगिताको फर्स्ट रनरअपमा प्रतियोगी नम्बर ८ की नेहा गुप्ता घोषित भइन्। त्यसैगरी, प्रतियोगी नम्बर १७ की ज्योति लामिछाने सेकेन्ड रनरअप र प्रतियोगी नम्बर २ की सगुन खनाल थर्ड रनरअप बन्न सफल भए। समारोहमा प्रतियोगीहरुलाई विभिन्न सब टाईटलमा समेत उपाधि प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, चर्चित अभिनेत्री रेखा थापा, सन् २०२४ की विजेता डा. डेलिना कार्की, एनएमबी बैंकको सिइओ गोविन्द घिमिरे, नेपाल प्रहरीको पूर्व एआईजिपी मिरा चौधरी, सिप्रदी अटोपार्टस्का उपाध्यक्ष युवराज बुढाथोकी थिए । निर्णायकहरूले प्रतियोगीहरूको प्रतिभा, व्यक्तित्व, आत्मविश्वास तथा प्रस्तुतिको मूल्यांकन गरेका थिए।

रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाको नेतृत्वमा लगातार छैटौँ संस्करण सम्पन्न भएको हो। प्रतियोगिताले विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व, आत्मविश्वास र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ।

महिलाहरूको प्रतिभा र क्षमतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित आयोजना हुँदै आएको यस प्रतियोगिताले विवाहित महिलाहरूलाई आफ्नो पहिचान स्थापित गर्न र विभिन्न क्षेत्रमा अगाडि बढ्न प्रेरित गर्दै आएको आयोजक निशुकान्त झाले बताए।

यो प्रतियोगिताको कोरियोग्राफी निशु कान्त झाले, डान्स कोरियोग्राफी सन्दीप भुलेलले गरेका थिए । यो प्रतियोगितामा ब्युटी न्युज नेपाल अफिसियल अनलाईन मिडिया पार्टनर रहेको थियो भने ग्रान्ड फिनालेलाई सेसिमी लिम्बु र सोफिया भुजेलले सञ्चालन गरेका थिए । कार्यक्रमको ब्यबस्थापनमा सम्राट प्रसाद शाह र गंगा महर्जन रहेका थिए ।

तस्बिर ः बद्री थापा, ब्युटी न्युज नेपाल