फेरिचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु, तीन घाइते


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ कात्तिक

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेको हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ८ः११ बजे अवतरण गर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर एकआपसमा ठोक्किएर दुर्घटनामा परेका हुन्। दुर्घटनामा भारतको तमिलनाडु राज्यस्थित चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल रहेका छन्।

घाइतेमध्ये पटेल र पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ। अर्का घाइते पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार एयर डाइनेस्टीको नाइन एन–एओडी हेलिकप्टर लुक्लाबाट फेरिचे पुगेको थियो भने फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकप्टर गोरक्षेपबाट त्यहाँ पुगेको थियो।

दुवै हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिएका छन्।

दुर्घटनापछि उद्धारमा खटिएको टोलीले घाइतेको उपचार तथा मृतकको शव व्यवस्थापन गरेको थियो। मृतक बलरामुडुको शव प्रभु एयरको हेलिकप्टरमार्फत लुक्ला लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत कारणबारे सम्बन्धित निकायले अनुसन्धान गर्ने जनाइएको छ।