भैलेनी देउसीरेमा रेश्मा सुनुवारको स्वर


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ कात्तिक

नेपाली मौलिक कला, संस्कृति र परम्परागत चाडपर्वको सांगीतिक महत्त्वलाई नयाँ पुस्तामाझ पुर्‍याउने उद्देश्यसहित तयार पारिएको गीत ‘भैलेनी देउसीरे’ सार्वजनिक गरिएको छ।

नमस्ते वायरलेस र ब्लस हाउसको प्रस्तुतिमा तयार भएको गीतमा गायिका रेश्मा सुनुवारको स्वर रहेको छ। गीतको शब्द र संगीत पनि सुनुवार स्वयंले तयार पारेकी हुन्। पुष्कर सुनुवारले गीतको एरेन्ज तथा मिक्सिङ गरेका छन्। मेलोडी नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतको पोस्ट प्रोडक्सन मेलोडी नेपाल प्रोडक्सनले गरेको हो।

गीतको भिडियोमा बिना राउत र तालिशा गुरुङले अभिनय गरेका छन्। भिडियोमा सोनिका गजमेरको मेकअप, नितिन वाइबाको कोरियोग्राफी तथा नीरेन श्रेष्ठ र कुबेर तामाङको निर्देशन रहेको छ। त्यस्तै, मोहन सुनुवारले छायांकन तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन्। भिडियो निर्माणमा आरएमडी टक्सको सहयोग रहेको छ।

नेपाली समाजमा तिहारका अवसरमा गाइने परम्परागत भैली तथा देउसीको सांस्कृतिक महत्त्वलाई गीतमार्फत प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। मौलिक भाका, परम्परा र सांस्कृतिक पहिचानलाई समेटिएको यस प्रस्तुतिले नयाँ पुस्तालाई नेपाली लोकसंस्कृतिसँग जोड्ने अपेक्षा गरिएको छ।

‘भैलेनी देउसीरे’ स्पोटिफाई, युट्युब म्युजिक, टिकटक, आइट्युन्स, सावन र अमेजन म्युजिकलगायतका विभिन्न डिजिटल प्लेटफर्ममा समेत उपलब्ध हुने जनाइएको छ।