ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ कात्तिक
नेपाली चलचित्र ‘पाँच पाण्डव’ले प्रदर्शनको तयारीसँगै प्रचारप्रसारलाई तीव्रता दिएको छ। यसैक्रममा निर्माण पक्षले चलचित्रमा समावेश नयाँ गीत ‘राजा चाहियो छ’ सार्वजनिक गरेको छ। गीतको भिडियोमा अभिनेत्री इभा गिरीको आकर्षक नृत्यसँगै वरिष्ठ कलाकार हरिवंश आचार्य, जितु नेपाल, महेश त्रिपाठी र विनोद न्यौपानेको रमाइलो प्रस्तुतिले दर्शकको ध्यान खिचेको छ।
शुक्रबार सार्वजनिक गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ। शशी शर्मा मजगैयाँको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतले विवाहका लागि आफूलाई उपयुक्त जीवनसाथी चाहिएको एक युवतीको चाहनालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ।
क्यासिनोको परिवेशमा तयार पारिएको गीतको भिडियोमा इभा गिरी बोल्ड नृत्य प्रस्तुत गर्दै देखिएकी छन्। उनको नृत्यमा हरिवंश आचार्य, जितु नेपाल, महेश त्रिपाठी र विनोद न्यौपानेले साथ दिएका छन्। गीतको आकर्षक प्रस्तुति र कलाकारहरूको सामूहिक उपस्थितिले चलचित्रको प्रचारमा थप रौनक ल्याउने अपेक्षा गरिएको छ।
वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’ आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउँदैछ। काली रानी फिल्मस्को ब्यानरमा निर्मित चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपानेलगायत कलाकारको अभिनय छ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन्। कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन्। सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने लेखक पौडेलको भनाइ छ।
श्याम तामाङको छायाङ्कन, सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी चलचित्रका प्राविधिक पक्ष हुन्। चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको ध्वनि डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ। दर्शकले चलचित्रमा डल्बी एटमस साउन्डको अनुभवसमेत लिन पाउने निर्माण पक्षले जनाएको छ। चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी वितरण गर्दैछन् भने ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा रहेको छ।








