‘बाटुलो जून’को शीर्ष गीतमा अनमोल र प्रिन्सीसँगै भुवन र गरिमा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ कात्तिक

अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तलाई एउटै पर्दामा प्रस्तुत गर्दै चलचित्र ‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक गरिएको छ। आगामी कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको निर्माण पक्षले शुक्रबार गीतको भिडियो सार्वजनिक गरेको हो।

‘बाटुलो जून’ शीर्षककै गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडासँगै भुवन केसी तथा गरिमा पन्तलाई पनि देख्न सकिन्छ। यसअघि सार्वजनिक गरिएका प्रचार सामग्रीमा भुवनलाई समेटिए पनि गरिमाको उपस्थितिलाई भने गोप्य राखिएको थियो। लामो समयदेखि नेपालबाहिर रहँदै आएकी गरिमाका लागि यो चलचित्र नेपाली फिल्म क्षेत्रमा पुनरागमनको माध्यम बनेको छ।

राम अविरल विष्टको शब्द रचना रहेको गीतमा एसडी योगी र सानु सुनारको स्वर रहेको छ। गीतमा संगीत तथा संगीत संयोजन एसडी योगीले गरेका हुन्। कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा कलाकारहरूलाई आकर्षक नृत्य र प्रस्तुतिमार्फत चित्रण गरिएको छ। कृष्ण भण्डारीले सम्पादन गरेको चलचित्रको पटकथा तथा संवाद लेखनमा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले सहकार्य गरेका छन्। चलचित्रको पार्श्व संगीत रोमन बज्राचार्यले तयार पारेका हुन् भने प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेका छन्।

सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा जिया केसी र भविष्य खड्का निर्माता रहेका छन्। चलचित्रमा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई, श्वेता मिश्र, सुजन भाई, सविन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हीना नगरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकारको पनि अभिनय छ। विवेक थापा सहनिर्माता रहेको चलचित्रमा भुवन केसीको निर्देशन रहेको छ।