ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ कात्तिक
हरर तथा अलौकिक कथामा आधारित चलचित्रको प्रवर्द्धन र अन्तर्राष्ट्रिय चलचित्र संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यसहित काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सुरु भएको छ। शुक्रबार काठमाडौँस्थित रसियन हाउसमा आयोजित समारोहमा कूटनीतिक प्रतिनिधि, चलचित्रकर्मी तथा संस्कृतिकर्मीहरूको उपस्थितिमा महोत्सव उद्घाटन गरिएको हो।
चलचित्र विकास बोर्डका अध्यक्ष मनीष पण्डित, जापानी दूतावासका उपनियोग प्रमुख यासुहारु सिन्तो, रसियन हाउस काठमाडौँकी निर्देशक अनास्तासिया खोख्लोभा, पाकिस्तानी दूतावासका प्रथम सचिव (प्रेस तथा संस्कृति) वकास अहमद र नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले संयुक्त रूपमा दीप प्रज्वलन गरी महोत्सवको शुभारम्भ गरे।
उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष पण्डितले नेपालमा विधागत चलचित्र निर्माण तथा प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। रसियन हाउसकी निर्देशक खोख्लोभाले नेपाल र रुसबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्य विस्तार गर्ने बताइन्।
महोत्सव निर्देशक राशिक पाठकले दर्शक, साझेदार तथा प्रवर्द्धकप्रति आभार व्यक्त गर्दै यस संस्करणदेखि दर्शकको प्रत्यक्ष सहभागितामा ‘दर्शक रोजाइ’ पुरस्कार प्रदान गर्ने नयाँ व्यवस्था गरिएको जानकारी दिए। यस व्यवस्थाअन्तर्गत दर्शकले चलचित्र प्रदर्शनपछि मतपेटिकामा मत खसालेर आफूलाई मन परेको चलचित्र छनोट गर्न सक्नेछन्।
महोत्सवको उद्घाटनसँगै लेबनानी निर्देशक नादिम ताबेतको चलचित्र ‘इन दिस डार्कनेस आई सी यू’ प्रदर्शन गरिएको थियो। ८५ मिनेट लामो अरबी भाषाको यो अलौकिक थ्रिलर फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण हो।
चलचित्रले अलौकिक त्राससँगै आप्रवासीप्रतिको शत्रुता, राजनीतिक तनाव र ऐतिहासिक द्वन्द्वलाई कथामा समेटेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम स्क्रिन डेलीले निर्माणस्थलमा भूतप्रेतको आशंका उत्पन्न भएपछि सिरियाली कामदार र लेबनानी गाउँलेबीच चर्किने तनावलाई चलचित्रको मुख्य कथावस्तुका रूपमा उल्लेख गरेको छ। त्यस्तै, अहराम अनलाइनले आप्रवासीप्रतिको शत्रुता र विगत तथा वर्तमानका द्वन्द्वले प्रभावित भूभागको चित्रणलाई चलचित्रको महत्त्वपूर्ण पक्ष मानेको छ। यसअघि चलचित्र ५८औँ कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘वर्क्स इन प्रोग्रेस’ विधामा छनोट भएको थियो।
नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा रसियन हाउस काठमाडौँ स्थल साझेदार, सिनेमेकर्स सहयोगी साझेदार तथा आईएमई खल्ती टिकटिङ साझेदारका रूपमा रहेका छन्।
कात्तिक १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित विभिन्न देशका हरर तथा अन्य विधागत चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपालमा विधागत चलचित्र निर्माण तथा प्रदर्शनको वातावरण विस्तार गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको छ।








