ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ कात्तिक
यस वर्षको दसैँमा प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये व्यापारिक हिसाबले ‘आ बाट आमा २’ सबैभन्दा अगाडि देखिएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कात्तिक ९ गते आइतबार राति ११ः५९ बजेसम्मको बक्स अफिस विवरणअनुसार ‘आ बाट आमा २’ ले टिकट बिक्री र आम्दानी दुवैमा अन्य चलचित्रलाई पछाडि पारेको छ। दसैँमा प्रदर्शनमा आएका ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को तुलनामा ‘आ बाट आमा २’ को व्यापार बलियो देखिएको हो।
यसपटक दसैँमा प्रदर्शनमा आएका यी तीन चलचित्रमध्ये ‘१२ गाउँ २’ भने अपेक्षाकृत कमजोर व्यापार गर्ने चलचित्र बनेको छ। दुई वर्षअघि दसैँमा प्रदर्शनमा आएको पहिलो शृङ्खला ‘१२ गाउँ’ ले उल्लेखनीय सफलता हासिल गरेको थियो। त्यसको सिक्वेलका रूपमा आएको ‘१२ गाउँ २’ ले भने यसपटक सोही स्तरको व्यापारिक प्रभाव देखाउन सकेन।
निर्देशक चन्द्र पन्तको चलचित्र ‘आ बाट आमा २’ ले भावनात्मक कथावस्तु र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेको छ। दसैँको पारिवारिक माहोलमा प्रदर्शनमा आएको यो चलचित्रले दर्शकको साथ पाउँदै व्यापारमा अग्रता कायम गरेको हो। अर्कोतर्फ, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को व्यापारिक प्रदर्शन भने तुलनात्मक रूपमा पछाडि देखिएको छ।
चलचित्र विकास बोर्डको विवरणअनुसार ‘आ बाट आमा २’ ले देशभर प्रदर्शनको १० दिनमा १ लाख ३१ हजार ४९१ ढी टिकट बिक्री गर्दै करिब ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँको व्यापार गरेको छ । यसले पारिवारिक तथा भावनात्मक कथामा आधारित चलचित्रप्रति दर्शकको आकर्षण देखाएको छ ।

दोस्रो स्थानमा रहेको ‘छ माया छपक्कै २’ ले प्रदर्शन भएको ९ औँ दिनमा ८२ हजार ७५९ टिकट बिक्री सहित २ करोड ७६ लाख रुपैयाँ ३९ हजार ४८ रुपैयाँको व्यापार स्वदेशी बक्स अफिसमा गरेको छ । यो चलचित्र फुलपातिको दिन ३१ असोजमा रिलिज भएको थियो । दिपेन्द्र लामाको निर्देशनमा यस अघि बनेको सिक्वेल चलचित्र ‘६ माया छपक्कै’को सफलपति पछि दिपक दिपाले नै यसको दोस्रो सिक्वेलको रुपमा ‘ ६ माया छपक्कै २’ निर्माण गरेका हुन् ।
त्यस्तै, ‘१२ गाउँ २’ ले प्रदर्शन भएको १० दिनमा स्वदेशी बजारमा ५७ हजार ९८३ टिकट बिक्री गर्दै जम्मा १ करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँको व्यापार बक्स अफिसमा गरेको चलचित्र विकास बोर्डले जनाएको छ । यसरी हेर्दा ष्यसपटकको दसैँमा टिकट बिक्री र कुल आम्दानीका आधारमा यी तीन चलचित्रमध्ये ‘१२ गाउँ २’ निकै कमजोर देखिएको छ ।
‘१२ गाउँ’ को सफलताको निरन्तरता कायम गर्न सकेन सिक्वेलले
दुई वर्षअघि प्रदर्शनमा आएको ‘१२ गाउँ’ ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो। अभिनेता विराज भट्टको निर्देशन तथा निर्माण र समीर भट्टको प्रमुख भूमिकाका कारण ‘१२ गाउँ २’ प्रति पनि दर्शकको अपेक्षा उच्च थियो। तर सार्वजनिक विवरणमा यसको टिकट बिक्री र आम्दानी अन्य केही चलचित्रको तुलनामा कम देखिएको छ । यसपटक विभिन्न कारणले गर्दा चलचित्र १२ गाउँ २ व्यापारमा सबैभन्दा कमजोर सावित भएको छ । हुन त दसैँमा प्रदर्शन हुने चलचित्रले बिदा, पारिवारिक जमघट र दर्शकको फुर्सदको समयबाट लाभ लिने अपेक्षा गरिन्छ। यसपटक भने चलचित्रहरूको व्यापारमा स्पष्ट अन्तर देखिएको छ। ‘आ बाट आमा २’ ले अग्रता कायम गर्दा ‘छ माया छपक्कै २’ आफ्नै गतीमा अघि बढ्दैछ । तर ‘१२ गाउँ २’ को व्यापारिक प्रदर्शन तुलनात्मक रूपमा निकै कमजोर हुँदै गएको छ ।









