ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ कात्तिक
नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ नेपालसँगै खाडी क्षेत्रका चार देशमा पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ। रामबाबु गुरुङ निर्देशित चलचित्रले संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार र बहराइनका चलचित्र घरमा प्रदर्शनको अवसर पाएको छ। खाडी मुलुकमा चलचित्रले पाएको शो सङ्ख्याले नेपाली चलचित्रप्रति त्यहाँ रहेका नेपाली दर्शकको आकर्षणलाई देखाएको छ।
युएईमा १४, ओमानमा पाँच, कतारमा दुई र बहराइनमा तीन गरी यी चार देशमा चलचित्रले कुल २४ वटा चलचित्र घरमा प्रदर्शनको अवसर पाएको छ। खाडी क्षेत्रमा एकैसाथ प्रदर्शन हुनुले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निर्माण पक्षका अनुसार चलचित्र युएईमा दुबई, आबुधाबी, सारजाह, अल ऐन, फुजैराह, अजमान र रस अल खैमाहलगायतका सहरमा प्रदर्शन भइरहेको छ। युएईका विभिन्न सहरमा रहेका भक्स, स्टार, सिनेपोलिस, सिने रोयल, सेफियर र सिनेम्याक्सका चलचित्र घरमा ‘कबड्डी ५’ हेर्न सकिनेछ।
ओमानको सलालाह, सोहार र मस्कटमा चलचित्र प्रदर्शन भइरहेको छ भने कतारको दोहास्थित एसियन टाउन र अल खोरका चलचित्र घरमा पनि यसलाई हेर्न सकिनेछ। बहराइनको सार, सेफ र मनामास्थित चलचित्र घरमा चलचित्र प्रदर्शन भइरहेको छ।
बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, रिश्मा गुरुङ, सिर्जना गुरुङ र कमलमणि नेपाललगायत कलाकारको अभिनय छ। लोकप्रिय ‘कबड्डी’ शृङ्खलाको पाँचौँ भागमा विपिन कार्कीको प्रवेश र काजीको विवाहसँग जोडिएको कथालाई दर्शकले चासोका साथ हेरेका छन्।
चलचित्रका निर्देशक रामबाबु गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) निर्माता छन् भने सागर राज कार्यकारी निर्माता हुन्। नेपालमा पनि शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले स्वदेश तथा विदेशमा एकैसाथ दर्शकको साथ पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।








