‘जलाकी’ को गीत ‘कलेजीको छेऊ’मा उपासना र सोनमको प्रेमिल जोडी


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ असोज

मगर तथा गुरुङ समुदायको संस्कृति, प्रेम र परम्परालाई कथामा समेटिएको चलचित्र ‘जलाकी’ को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक गरिएको छ। ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको चलचित्रको गीत शुक्रबार सार्वजनिक गरिएको हो। गीतको भिडियोमा अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता सोनम तोप्देनको प्रेमिल जोडी देख्न सकिन्छ।

प्रेमी–प्रेमिकाबीचको गहिरो प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा खड्कबहादुर पुन (खबपु) लगायत कलाकारको पनि अभिनय छ। उपासना र सोनमको जोडी भिडियोमा सुहाएको देखिन्छ भने अन्य कलाकारको पहिरन, हाउभाउ र प्रस्तुतिले गीतलाई थप रोचक बनाएको छ।

गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर छ। सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा एसडी योगीको सङ्गीत निर्देशन, मिक्सिङ तथा मास्टरिङ छ। रिकेश गुरुङले सङ्गीत संयोजन गरेको गीतमा रत्न बीकेको बाँसुरी, मदन रेग्मीको मादल तथा खैँजडी, शिशिर परियारको पञ्चेबाजा र हेमन्त कान्छा रसाइलीको सारङ्गी सुनिन्छ। गीतको रेकर्डिङ तथा मिक्सिङ सुपरभिजन सागर खड्काले गरेका हुन्।

यसअघि चलचित्रका ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीत सार्वजनिक भइसकेका छन्। ती गीतले युट्युब तथा टिकटकजस्ता सामाजिक सञ्जालमा दर्शक तथा स्रोताबाट राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको भनाइ छ। तेस्रो गीतले पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादी छ।

आगामी मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाबाट निर्मित स्तम्भसँग सम्बन्धित शब्द हो। निर्देशक अशोक थापा मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा तथा भावनात्मक सम्बन्धलाई चलचित्रमा प्रस्तुत गरिएको बताएका छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, सङ्गीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनलगायत कलाकारको अभिनय छ। क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन् भने मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर बालकलाकारका रूपमा छन्। यसै चलचित्रमार्फत मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली चलचित्रमा पदार्पण गरेकी छन्।

चलचित्रका निर्माता ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी हुन्। ‘जलाकी’ को वितरण गोविन्द शाहीको काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्।