‘कबड्डी ५’ मा काजीको प्रेमपछि जीवनको कथा, पात्र र परिवेशसँगै बदलिँदै शृङ्खला


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ कात्तिक

‘कबड्डी’ को चौथो शृङ्खलालाई ‘द फाइनल म्याच’ नाम दिएपछि दर्शकले काजीको कथा त्यहीँ समाप्त भएको अनुमान गरेका थिए। तर काजीको प्रेमकथाले एउटा मोड पूरा गरे पनि उनको जीवनका अन्य अध्याय बाँकी नै थिए। यही अधुरो कथालाई निरन्तरता दिँदै निर्देशक रामबाबु गुरुङले ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ निर्माण गरेका छन्। यसपटक चलचित्रले काजीको प्रेमजीवनसँगै उनको व्यावहारिक जीवन, बदलिँदो मनोविज्ञान र समाजसँगको सम्बन्धलाई पनि प्रस्तुत गर्ने निर्देशक गुरुङले बताएका छन्।

गुरुङका अनुसार चौथो शृङ्खला निर्माण गर्दा काजीको नयाँ प्रेमजीवनको एउटा अध्यायलाई टुंग्याउने सोचले ‘द फाइनल म्याच’ अवधारणा अपनाइएको थियो। तर चलचित्र प्रदर्शनपछि दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले पात्रहरूको कथा अझ अगाडि बढाउन प्रेरणा दिएको उनले बताए।

‘चौथो शृङ्खलामा हामीले काजीको नयाँ प्रेमजीवनको छोटो समयको रोमाञ्चकतालाई टुंग्याउने सोचले कथा निर्माण गरेका थियौँ। दर्शकले चलचित्रलाई निकै रुचाइदिनुभयो। त्यसले व्यावसायिक सफलतासँगै अन्य पक्षमा पनि प्रोत्साहन मिल्ने रहेछ भन्ने महसुस गरायो,’ गुरुङले भने।

उनका अनुसार काजीको प्रेमजीवनको एउटा अध्याय पूरा भए पनि त्यसपछिको जीवन कस्तो हुन्छ भन्ने प्रश्नले पाँचौँ शृङ्खलाको आधार तयार गरेको हो। यस विषयमा अभिनेता दयाहाङ राईसँग छलफल भएपछि उनले लेखन सुरु गरेका थिए। पाँचौँ भाग निर्माण गर्नु कुनै बाध्यता नभएको उल्लेख गर्दै गुरुङले दर्शकको प्रतिक्रियाले थप काम गर्न हौसला दिएको बताए।

पात्रसँगै हुर्किएको कथा

‘कबड्डी’ को पहिलो भागदेखि पाँचौँ भागसम्म आइपुग्दा यसका पात्रहरूको छुट्टै संसार निर्माण भइसकेको निर्देशक गुरुङको अनुभव छ। वर्षौँदेखि एउटै पात्रलाई पर्दामा देख्दै आएका दर्शकसँगै ती पात्र पनि हुर्किएका छन्। उनीहरूको उमेर, अनुभव र सामाजिक परिवेशले व्यवहारमा ल्याउने परिवर्तनलाई यसपटक कथामा विशेष ध्यान दिइएको उनले बताए।

यसअघिका शृङ्खला हास्य, आक्रोश, संवाद र पञ्चलाइनका कारण दर्शकमाझ लोकप्रिय भए पनि पाँचौँ भागमा ती पक्षसँगै पात्रहरूको मनोदशा र परिपक्वतालाई प्राथमिकता दिइएको गुरुङको भनाइ छ।

‘पहिलेका पात्र अहिले उही अवस्थामा छैनन्। समय र अनुभवले उनीहरूको जीवनमा परिवर्तन ल्याएको छ। त्यसैले उनीहरूले परिस्थितिलाई गर्ने प्रतिक्रिया पनि बदलिनु स्वाभाविक हो,’ उनले भने।

निर्देशकका अनुसार चलचित्रका पात्र र उनीहरूको मनोविज्ञान नेपाली समाजकै अनुभव तथा वरिपरिको जीवनबाट प्रभावित छन्। यही कारण ‘कबड्डी’ का पात्रहरू क्रमशः काल्पनिक चरित्रभन्दा दर्शकले आफ्नै समाजमा देखेका र भोगेका मानिसजस्ता बन्दै गएको उनको बुझाइ छ।

बदलिँदो मुस्ताङ पनि कथाको हिस्सा

‘कबड्डी’ शृङ्खलाको कथा मात्र होइन, चलचित्रमा देखाइने मुस्ताङको परिवेशसमेत समयसँगै परिवर्तन भएको छ। पहिलो भाग छायाङ्कन गरिएका घर, गल्ली र बाटाहरू अहिले पुरानो अवस्थामा नरहेको गुरुङले बताए।

उनका अनुसार मुस्ताङमा परम्परागत ढुङ्गाले छाएका घर र कच्ची बाटाको स्थानमा पक्की घर तथा सडक निर्माण भएका छन्। गाउँको संरचनासँगै स्थानीयको जीवनशैलीमा पनि परिवर्तन आएको छ। पहिले छानामा दाउरा सुकाउनेदेखि परम्परागत घरमा बस्ने चलन रहेको ठाउँमा अहिले टिनका छाना, पक्की संरचना र ग्यासको प्रयोग बढेको उनले सुनाए।

यस्ता परिवर्तनले चलचित्रको दृश्यात्मक पक्षमा समेत प्रभाव पारेको छ। शृङ्खलाका पुराना दृश्यसँग नयाँ परिवेश तुलना गर्दा समयले गाउँ र त्यहाँका मानिसको जीवनमा पारेको प्रभाव देख्न सकिने उनको भनाइ छ।

पाँचौँ भागको पटकथा लेखन अघिल्ला भागको तुलनामा केही सहज भए पनि दर्शकको अपेक्षा बढेकाले चुनौती थपिएको गुरुङले बताए। लामो समयदेखि एउटै पात्र र कथामा काम गरेकाले उनीहरूको स्वभाव तथा कथालाई अघि बढाउने दिशा स्पष्ट रहेको उनको अनुभव छ।

बिके र एआईको सम्बन्ध, बमकाजीको रहस्य

‘कबड्डी ५’ मा बिके पात्रलाई कृत्रिम बुद्धिमत्ता अर्थात् एआईसँग जोडिएको छ। चलचित्रको टिजरमा पनि यसको सङ्केत देखाइएको छ। तर कथा लेखन सुरु गर्दा एआईको विकासलाई केन्द्रमा राखेर यस्तो योजना नबनाइएको गुरुङले स्पष्ट पारे।

उनका अनुसार बिके सुरुदेखि नै केही छट्टु, बाठो र जानी–नजानी प्रविधिमैत्री स्वभावको पात्र हो। सोही चरित्रलाई विस्तार गर्दै जाँदा एआईसँगको सम्बन्ध कथामा स्वाभाविक रूपमा जोडिएको हो।

यसपटक विपिन कार्की बमकाजीको भूमिकामा देखिँदै छन्। उनी कथाका कुन पात्रसँग कसरी जोडिन्छन् भन्ने विषयमा भने निर्देशकले खुलाउन चाहेनन्। बिके, छन्त्याल र काजीको विवाहसँग सम्बन्धित प्रसङ्गले पनि चलचित्रको कथालाई नयाँ मोड दिने सङ्केत उनले गरेका छन्।

‘कबड्डी’ का अघिल्ला भागमा देखिँदै आएको खेल यसपटक सबै पात्र समेटिने ठूलो भिडन्तमा परिणत हुन सक्ने सम्भावनासमेत गुरुङले औँल्याएका छन्। काजीको जीवनसँग जोडिएका चार सोल्टिनीको प्रसङ्ग उल्लेख गरे पनि उनले कथाका थप विवरण सार्वजनिक गर्न चाहेनन्। सार्वजनिक गीत ‘थाक खोला’ मा भने तीन जना सोल्टिनी देखिएका छन्।

यसैगरी, पहिलो र दोस्रो भागमा काजी र मैयाँबीचको सम्बन्धले दर्शकमाझ सिर्जना गरेको भावनात्मक प्रभावलाई पाँचौँ भागमा पनि निरन्तरता दिइने निर्देशकले बताएका छन्। प्रेमजीवनसँगै व्यावहारिक जीवन र समाजसँगको सम्बन्धमा काजीले गर्नुपरेका त्याग पनि कथाका महत्त्वपूर्ण पक्ष हुनेछन्।

व्यावसायिक रेकर्डभन्दा कथाको निरन्तरता महत्त्वपूर्ण

‘कबड्डी’ शृङ्खलाले नेपाली चलचित्र क्षेत्रमा व्यावसायिक सफलता र लोकप्रियताको छुट्टै पहिचान बनाएको छ। अघिल्ला भागको सफलताले पाँचौँ भागप्रति दर्शकको अपेक्षा बढाएको भए पनि नयाँ रेकर्ड कायम गर्नैपर्छ भन्ने दबाब आफूले नलिएको गुरुङले बताए।

दसैँको अवसरमा अन्य सिक्वेल चलचित्रसमेत प्रदर्शनमा आउने भएकाले प्रतिस्पर्धाको प्रभाव पर्न सक्ने उनको बुझाइ छ। यद्यपि ‘कबड्डी’ को आफ्नै दर्शक समूह रहेकाले उनीहरूको साथ पाउने विश्वास निर्देशकले व्यक्त गरेका छन्।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ। सागर राज चलचित्रका कार्यकारी निर्माता हुन्।

चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन्। सहायक भूमिकामा पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय छ।

चलचित्रको नेपाल वितरण वेंकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेश वितरणको जिम्मेवारी सेभेन सिज इन्टरनेसनलले लिएको छ। चलचित्रमा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको सङ्गीत, सञ्जय लामाको छायाङ्कन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। सोमनाथ खनाल र तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।