ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ असोज
परिवर्तन नेपालले नेपाली कला तथा चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका स्रष्टा तथा सञ्चारकर्मीलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ। आइतबार काठमाडौँमा आयोजित विशेष समारोहमा २०८२ सालको ‘श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’, ‘चेतन कार्की स्मृति पुरस्कार’ तथा ‘परिवर्तन सम्मान’ विभिन्न व्यक्तित्वलाई अर्पण गरिएको हो।
समारोहमा कलाकार शारदा गिरी र निर्देशक तथा कलाकार विश्वदिप घिमिरेलाई ‘श्री दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गरियो। त्यस्तै, सञ्चारकर्मी कृष्ण भट्टराईलाई ‘चेतन कार्की स्मृति पुरस्कार’बाट सम्मानित गरिएको छ। दुवै पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।
नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार तथा चलचित्रकर्मीको पेशागत उत्थानमा तीन दशकभन्दा लामो समयदेखि पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै भट्टराईलाई ‘चेतन कार्की स्मृति पुरस्कार’ प्रदान गरिएको हो। २०७९ सालमा स्थापना गरिएको उक्त पुरस्कार प्राप्त गर्ने भट्टराई हाल ‘कलाकर्मी डटकम’का प्रधान सम्पादक तथा प्रकाशकका रूपमा कार्यरत छन्।
त्यसैगरी, चार दशकदेखि नेपाली चलचित्र तथा टेलिफिल्ममा अभिनय गर्दै आएकी शारदा गिरी र अढाई दशकभन्दा लामो समयदेखि नेपाली रंगमञ्च, चलचित्र तथा टेलिफिल्ममा निर्देशन र अभिनय गर्दै आएका विश्वदिप घिमिरेलाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गरिएको हो। उक्त पुरस्कार २०७३ सालमा स्थापना गरिएको हो।

परिवर्तन नेपालले आफ्नो स्थापनाकाल विसं २०५३ देखि कला, चलचित्र तथा साहित्यलगायत क्षेत्रमा योगदान पुर्याउने स्रष्टा, सर्जक र संस्थासँग आबद्ध चलचित्रकर्मीलाई विभिन्न सम्मान प्रदान गर्दै आएको छ। यसैक्रममा समारोहमा अभिनेता आर्यन सिग्देल, अभिनेता आशान्त शर्मा, कलाकार सरोज ओली र ललितकला कलाकार देवेन्द्र थुम्केलीलाई ‘परिवर्तनकर्मी विशेष सम्मान’ प्रदान गरिएको थियो। उनीहरू आफ्नो कला यात्राको प्रारम्भिक चरणमा परिवर्तन नेपालसँग आबद्ध थिए।
चलचित्रमा छायांकन तथा प्राविधिक क्षेत्रमार्फत योगदान पुर्याउँदै आएका छायाकार वीरेन्द्रप्रसाद भट्टलाई प्राविधिकको पेशागत हकहितका लागि गरेको योगदानको कदर गर्दै ‘परिवर्तन सम्मान’ प्रदान गरियो। गीत–संगीत क्षेत्रमा पत्रकारिताका साथै अवार्ड आयोजना गरेर योगदान पुर्याउँदै आएकी सविता पोखरेललाई ‘परिवर्तन पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो।
यसैगरी, नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा योगदान पुर्याएको भन्दै चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दिनेश डिसीलाई ‘परिवर्तन विशेष सम्मान’बाट सम्मानित गरिएको छ।
प्रथम नेपाली अभिनेत्री भुवन चन्दको सभापतित्वमा आयोजित समारोहमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, टीका पहारी, चैत्यदेवी, शिव श्रेष्ठ, धिरेन शाक्यलगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो। नेपाल सरकारका सचिव मुकुन्दप्रसाद निरौला, विपिनराज निरौला तथा परिवर्तन नेपालका उपाध्यक्ष एवं संगीतकार सन्तोष श्रेष्ठलगायतले सम्मानित तथा पुरस्कृत व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य व्यक्त गर्दै पितृपक्षको अवसर पारेर आफ्ना दिवंगत माता दुर्गादेवी र पिता पुण्य निरौला तथा वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा पुरस्कार तथा सम्मान अर्पण गरिएको बताए।
वरिष्ठ कलाकार टीका पहारीले नेपाली कला क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्पराले नयाँ पुस्तालाई समेत प्रेरणा दिने धारणा व्यक्त गरे। उनले परिवर्तन नेपालले कलाकार तथा स्रष्टाको योगदानको कदर गर्दै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने काम गरिरहेको बताए।






