ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ असोज
नेपाली चलचित्र ‘जदौ’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिन बिहानी शोदेखि नै चलचित्रले दर्शकको उत्साहजनक साथ पाएको निर्माण पक्षले जनाएको छ।
अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा तयार भएको चलचित्रमा नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, ऋचा शर्मालगायत कलाकारको मुख्य भूमिका रहेको छ।
निरन्तर वर्षा भइरहे पनि चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहेको बताइएको छ। चलचित्र प्रदर्शन भइरहेका हलबाट बाहिरिएका दर्शकले यसको कथा, संवाद र गीतको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।
देशभरका हलमा करिब ५० शो पाएको चलचित्रको अग्रिम बुकिङसँगै तत्कालीन टिकट बिक्रीसमेत भइरहेको निर्माण पक्षले जनाएको छ।
केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेको चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्। चलचित्रको प्रदर्शन अवधि २ घण्टा १० मिनेट १७ सेकेन्ड रहेको छ।
शान्ता पुडासैनीले निर्माण गरेको चलचित्र ‘जदौ’ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ।






