ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ असोज
फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारदेखि तीन नेपाली चलचित्र एकसाथ देशभरका सिनेमाघरमा प्रदर्शनमा आएका छन्। ‘बाः एक योद्धा’, ‘जदौ’ र ‘आचार्य’ फरक–फरक विषयवस्तु र शैलीका साथ दर्शकमाझ आएका हुन्।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ पारिवारिक सम्बन्ध र अभिभावकको त्याग तथा संघर्षमा केन्द्रित छ। चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारले अभिनय गरेका छन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा वसन्त लम्साल निर्माता छन्।
काजी लिम्बु र अञ्जन शर्माको संयुक्त निर्देशनमा बनेको ‘जदौ’ सामाजिक विषयवस्तु तथा अन्तरजातीय प्रेमसम्बन्धलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र हो। यसमा मुकुन भुसाल, नीति शाह, ऋचा शर्मा, प्रभात पाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, खड्कबहादुर पुन, सन्ध्या श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।

यसैगरी अभिनेता निखिल उप्रेतीको निर्देशन तथा मुख्य अभिनय रहेको ‘आचार्य’ एक्सनप्रधान चलचित्रका रूपमा प्रदर्शनमा आएको छ। निखिलसँगै पूर्णिका सिजापती, रघु बाबू, रघु करुमन्चीलगायत कलाकार चलचित्रमा छन्। एकै दिन प्रदर्शनमा आएका यी तीन चलचित्रले नेपाली सिनेमाका फरक स्वाद र विषयवस्तु दर्शकमाझ प्रस्तुत गरेका छन्। वर्षाका कारण शुक्रबार बिहानका केही शो प्रभावित भए पनि दिनसँगै दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ।






