‘बाः एक योद्धा’ आजबाट प्रदर्शनमा, दर्शकबाट उत्साहजनक प्रतिक्रिया


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ असोज

हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘बाः एक योद्धा’ शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ। काठमाडौँ, नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित विशेष प्रदर्शनमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि चलचित्र देशव्यापी प्रदर्शनमा आएको हो। विशेष प्रदर्शनमा सहभागी दर्शकले चलचित्रको कथा र प्रस्तुतिलाई रुचाएका छन्।

दर्शकले अभिनेता दिव्यदेवको अभिनय करियरका लागि ‘बाः एक योद्धा’ महत्वपूर्ण चलचित्र बन्न सक्ने प्रतिक्रिया दिएका छन्। अभिनेत्री सुहाना थापाको यसअघिका चलचित्रभन्दा फरक भूमिकालाई पनि दर्शकले प्रशंसा गरेका छन्।

परिवारभित्रको सम्बन्ध, अभिभावकको त्याग र सन्तानप्रतिको जिम्मेवारीलाई चलचित्रले मुख्य विषय बनाएको छ। विशेषगरी सन्तानको भविष्य निर्माणका लागि बुवाआमाले गर्ने संघर्ष, त्याग र जीवनको उत्तरार्धमा उनीहरूले भोग्नुपर्ने एक्लोपन, बेवास्ता तथा पीडालाई कथामा प्रस्तुत गरिएको छ।

चलचित्रले नेपाली समाजमा अभिभावक र सन्तानबीचको सम्बन्धलाई भावनात्मक रूपमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। विशेष प्रदर्शनमा सहभागी दर्शकले चलचित्रको कथा आफ्नै परिवार र सामाजिक परिवेशसँग जोडिने प्रतिक्रिया दिएका छन्।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा, पटकथा तथा निर्देशन हरि लम्सालले गरेका हुन्। वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन निर्माता तथा कृष्ण काफ्ले सह–निर्माताका रूपमा रहेका छन्।

चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्। ‘बाः एक योद्धा’को वितरण आशिष एच. तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गरेको हो।

पारिवारिक सम्बन्ध र अभिभावकको त्यागलाई केन्द्रमा राखिएको चलचित्र भएकाले प्रदर्शनसँगै दर्शकको प्रतिक्रिया र व्यावसायिक परिणामतर्फ पनि चलचित्रकर्मीको ध्यान केन्द्रित भएको छ।