‘पाँच पाण्डव’को फस्र्टलुकमा खुल्यो पाँच पात्रको परिचय, चलचित्र कात्तिक २० मा आउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ असोज

तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै मुख्य पात्रहरूको परिचय खुलाएको छ। निर्माण पक्षले बिहीबार सार्वजनिक गरेको पोस्टरमा चलचित्रका पाँच प्रमुख कलाकारलाई महाभारतका पाँच पाण्डवको चरित्रमा प्रस्तुत गरिएको छ।

पोस्टरमा हरिवंश आचार्यलाई युधिष्ठिर, जितु नेपाललाई भीम, आर्यन सिग्देललाई अर्जुन, महेश त्रिपाठीलाई नकुल र सुशील सिटौलालाई सहदेवको भूमिकामा देखाइएको छ। पाँचै कलाकारलाई घोडाले तानिरहेको आकर्षक बग्गीमा प्रस्तुत गरिएको पोस्टरमा हरिवंश अगाडि र अन्य चार कलाकार पछाडि उभिएको देखिन्छ।

निर्देशक वसन्त निरौलाका अनुसार पोस्टरमार्फत मुख्य पात्रहरूको चरित्र सार्वजनिक गर्ने उद्देश्य राखिएको हो। “पोस्टरले दर्शकमाझ चलचित्रका पात्रबारे कौतुहलता बढाउने विश्वास लिएका छौँ। पात्र र उनीहरूको लुक्स दर्शकका लागि परिचित भएकाले चलचित्रप्रतिको प्रतीक्षा पनि बढ्ने अपेक्षा छ,” उनले भने।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको चलचित्र आगामी कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउने तयारीमा छ। हाल चलचित्रको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ। चलचित्र पूर्ण रूपमा डल्बी एटमस प्रविधिको ध्वनिमा तयार भइरहेको निर्देशक निरौलाले जानकारी दिएका छन्।

‘पाँच पाण्डव’मा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलासँगै दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सीता न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता तथा काली रानी श्रेष्ठ निर्माता रहेको चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। सामाजिक कथावस्तुमा आधारित चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने लेखक पौडेलले बताएका छन्।

श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको ध्वनि डिजाइन, सुजिल कर्माचार्यको पृष्ठभूमि संगीत, पुकार धिमालको भीएफएक्स, रोहित राज गौतमको एचओपी तथा विष्णु बुढाथोकीको निर्माण व्यवस्थापन रहेको छ। चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।